विराटनगर । ४औँ डिपिएस इन्टरनेशनल इन्भाइटेन्सनल इन्टर स्कुल फुटबल रनिङ शिल्ड २०८३ अन्तर्गत सम्पन्न दोस्रो खेलमा आयोजक डिपिएस विराटनगरले नारग्राम स्कुल, टंकीसिनवारीमाथि ४–० गोलको शानदार जित हासिल गरेको छ।
डिपिएसले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षी टोलीमाथि दबाब सिर्जना गरेको थियो। खेलको १४औँ मिनेटमा अमन खवासले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै पहिलो हाफको समाप्तिमा डिपिएसलाई २–० को अग्रता दिलाए।
दोस्रो हाफमा पनि डिपिएस विराटनगरले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो। दोस्रो हाफको तेस्रो मिनेटमा दिपेश आले मगरले तेस्रो गोल गरे भने १०औँ मिनेटमा आयुष साहनीले लामो दूरीबाट उत्कृष्ट प्रहार गर्दै टोलीका लागि चौथो गोल थपे।
खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै आकर्षक लामो दूरीको गोल गरेका डिपिएसका आयुष साहनी म्यान अफ दि म्याच घोषित भए।
डिपिएसका अमन खवास – १४औँ मिनेट, अमन खवास – २३औँ मिनेट दिपेश आले मगर दोस्रो हाफको ३औँ मिनेटमा गोल गरेका थिए । यसैगरी आयुष साहनीले दोस्रो हाफको १०औँ मिनेटमा गोल थपे ।
प्रतियोगितामा सहभागी ८ विद्यालयमध्ये तेस्रो खेलमा आज दुई उत्कृष्ट टोली आमनेसामने हुँदैछन्। जसमा एजेलिया विराटनगर र माउन्ट हेरमोन चिल्ड्रेन एकाडेमी कानेपोखरी छन् ।
खेल विराटनगर खेलमैदानमा दिउँसो १ बजे हुँदैछ ।
