विराटनगर । संविधान दिवसको अवसरमा दिल्ली पब्लिक स्कूल विराटनगरमा राष्ट्रिय एकता, देशप्रेम र संविधानका मूल भावनालाई आत्मसात् गर्दै विशेष कार्यक्रम तथा परेड आयोजना गरिएको छ।
विद्यालयका प्रधानाचार्य टी. एन. भण्डारी र प्री-स्कुल जोन हेड अर्चना दुगरको उपस्थितिमा तथा शिक्षकहरूको मार्गदर्शनमा आयोजित कार्यक्रममा साना बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा बालबालिकाले राष्ट्रिय झण्डासहित परेडमा सहभागिता जनाएका थिए। नेपाली मौलिक पोसाकमा सजिएका बालबालिकाको सहभागिताले नेपालको विविधता, संस्कृति र राष्ट्रिय पहिचानप्रतिको सम्मानलाई समेत प्रतिबिम्बित गरेको थियो।
कार्यक्रममा दीप तथा मैनबत्ती प्रज्वलन गर्दै शान्ति, एकता, आशा र समुन्नत भविष्यको संकल्प गरिएको थियो। बालबालिकालाई उनीहरूको उमेर र बुझाइअनुसार संविधानको अर्थ तथा यसको महत्वबारे जानकारी गराउँदै देशप्रेम, समानता, आपसी सम्मान, अनुशासन र जिम्मेवार नागरिक बन्ने भावनाको विकासमा जोड दिइएको थियो।
देशभक्तिपूर्ण गीत ‘रातो र चन्द्र सूर्य’को प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। सानै उमेरदेखि बालबालिकामा राष्ट्रप्रतिको माया, राष्ट्रिय स्वाभिमान र आफ्नो देशप्रतिको जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
शिक्षा केवल ज्ञान आर्जन गर्ने माध्यम मात्र होइन, असल संस्कार र जिम्मेवार नागरिक निर्माण गर्ने आधार पनि हो भन्ने मान्यतालाई आत्मसात् गर्दै डिपिएसले आफ्ना विद्यार्थीमा राष्ट्रियता, अनुशासन, संस्कार, सहिष्णुता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न विभिन्न शैक्षिक तथा सह-शैक्षिक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।
संविधानले परिकल्पना गरेको समतामूलक, समावेशी, एकताबद्ध र समृद्ध राष्ट्र निर्माणमा योगदान दिन सक्ने पुस्ता तयार पार्नु शिक्षाको महत्वपूर्ण दायित्व हो। यही भावनालाई व्यवहारमा उतार्दै बालबालिकाको उज्ज्वल भविष्यसँगै राष्ट्रको उज्ज्वल भविष्य निर्माणप्रति पनि प्रतिबद्ध रहेको विद्यालयले जनाएको छ।
कार्यक्रमको अन्त्यमा बालबालिकाको सामूहिक फोटो सेसन गरिएको थियो।


