Premier Cables
Premier Steel

कोशी प्रदेश

ओलीको दबाबमा राजीनामा नदिने मुख्यमन्त्री कार्कीको अडान, शीर्ष नेताको सहमति खोज्दै

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | बिहान ११:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबकै आधारमा पदबाट राजीनामा नदिने अडान राखेका छन्। उनले पार्टीका शीर्ष नेताहरूबीच सर्वसम्मति भए मात्रै राजीनामाबारे निर्णय लिने सन्देश दिएका छन्।

मंगलबार विराटनगरमा सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूसँग भएको छलफलमा मुख्यमन्त्री कार्कीले कार्यकालको अन्तिम चरणमा सरकार परिवर्तन गर्दा गलत सन्देश जाने र प्रदेशमा राजनीतिक अस्थिरता बढ्ने धारणा राखेका हुन्।

विज्ञापन

छलफलमा सहभागी एक नेताका अनुसार कार्कीले शीर्ष नेताहरूको सर्वसम्मतिबिना गुटगत दबाबमा राजीनामा नदिने स्पष्ट पारेका थिए।

बैठकमा नेकपाका प्रदेश कमिटी संयोजक हर्क नेम्वाङले पनि चुनावको मुखमा सरकार परिवर्तन गर्नु उचित नहुने धारणा राखेका थिए। उनले कार्यकालको अन्तिम समयमा नेतृत्व परिवर्तन गर्दा राजनीतिक दलहरूको छवि प्रभावित हुने बताएका थिए।

बैठकमा नेकपाका तर्फबाट प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र आङ्बो र संयोजक नेम्वाङ सहभागी थिए। एमालेका तर्फबाट मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप र प्रदेश सांसद रेवतीरमण भण्डारी सहभागी थिए।

एमालेभित्र कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर तिलकुमार मेन्याङ्बोलाई जिम्मेवारी दिने विषयमा यसअघि देखि नै छलफल हुँदै आएको छ। एमाले नेता शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरूले कार्कीको राजीनामाका लागि पार्टी अध्यक्ष ओलीसमक्ष दबाब दिँदै आएका छन्।

गत साउन २० गते ओली, कार्की, प्रदेश अध्यक्ष खतिवडा र सचिव राजकुमार भण्डारीबीच यस विषयमा छलफल भएको थियो। त्यसबेला दशैँ–तिहारपछि कार्कीले राजीनामा दिने समझदारी बनेको बताइएको थियो।

तर पछिल्लो छलफलमा कार्कीले महासचिव शंकर पोखरेलसहित शीर्ष नेताहरूको सर्वसम्मत निर्णय आवश्यक पर्ने अडान राखेका छन्।

यसैबीच, बैठकमा प्रदेश सरकारले ल्याउन लागेका विभिन्न अध्यादेश र चालु आर्थिक वर्षको बजेट पुनरावलोकनका विषयमा पनि छलफल भएको थियो।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको पारिश्रमिक तथा सेवा–सुविधा निर्धारण, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी त्रुटि सच्याउने र जिल्ला अस्पतालका अध्यक्ष नियुक्तिसम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने विषयमा अध्यादेश ल्याउनेबारे छलफल भएको छ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएको असन्तुलन हटाउने विषयमा पनि छलफल भएको छ। पूरक बजेट ल्याउन कानुनी जटिलता देखिएकाले मन्त्रिपरिषद्बाट निर्णय गरी बजेट विनियोजन मिलाउने विकल्पबारे नेताहरूबीच कुराकानी भएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka