






भद्रपुर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापा जिल्ला भद्रपुर–८ मा निर्माणाधीन मेची बहुमुखी क्याम्पसको क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । कोसी प्रदेशमै सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यस परियोजनाको प्रारम्भिक चरणको काम सम्पन्न भइसकेको बताइएको छ।
भद्रपुर क्रिकेट क्लबका अनुसार प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीहरूको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्चेर मैदानको प्रारम्भिक संरचना तयार गरिएको हो। रङ्गशालामा करिब ८ हजार दर्शक अटाउने संरचना निर्माण गर्ने योजना रहेको क्लबले जानकारी दिएको छ।
अवलोकनको क्रममा मुख्यमन्त्री कार्कीले प्रारम्भिक काम सन्तोषजनक रूपमा अगाडि बढिरहेको उल्लेख गरे । उनले प्रदेश सरकारबाट थप सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । क्लबलाई स्पष्ट र व्यावसायिक परियोजना विवरण प्रतिवेदन(डीपीआर) तयार गर्न आग्रह गरे । यसकै आधारमा प्रदेश सरकारले सहयोगको ढाँचा निर्धारण गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सक्रिय रहेको बताउँदै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र खेलप्रेमीहरूको सहकार्य आवश्यक रहेको धारणा राखे ।
अवलोकन भ्रमणमा भद्रपुर नगरपालिकाका वडा अध्यक्ष मनोज सुब्बा, क्लब अध्यक्ष आदित्य पराजुलीसहित अन्य पदाधिकारीहरू सहभागी थिए ।