Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीको दाबी: सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

Calendar शनिबार, माघ ०३, २०८२  | साँझ ६:०८ बजे

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनले आज सुनसरीको इटहरीमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रियाका कार्यक्रममा मुख्यमन्त्री कार्कीले मतदातले ढुक्क भएर मतदान गर्ने वातावरण सरकारले बनाउन नसकेको बताएका हुन् ।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले राजनीतिक दलसहित मतदाताले ढुक्कका साथ निर्वाचनमा भोट हाल्ने वातावरण सरकारले नबनाएका कारण तोकिएको मितिमा निर्वाचन हुने वा नहुनेमा अन्योलता रहेको बताएका छन् । मुख्यमन्त्री कार्कीले मतदाताले भयरहित वातावरणमा भोट हाल्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले सबैले भयरहित र निश्पक्ष वातावरणमा निर्वाचन होस् भन्ने कामना गरेपनि वर्तमान सरकारले सङ्गठित अपराधलगायतका मुद्दा फिर्ता लिएको अवस्थाले सरकारले कुन नियत राखेर निर्वाचन गराउन लागेको भन्ने विषय शङ्कास्पद रहेको बताए ।

कारागारबाट फरार भएका कैदीबन्दी र सुरक्षा निकायबाट लुटिएको हतियार सरकारले फिर्ता ल्याउन नसकेको अवस्थामा भयरहित ढङ्गमा निर्वाचन हुने अवस्था नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालको मानव अधिकार अभियानको पर्याय बनेको इन्सेकले अघिल्ला निर्वाचनमा जस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्ने बताए । भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक सचेतनाका आधारहरू हरेक क्षेत्रमा देखिएकाले इन्सेकले समेत स्वच्छ र निश्पक्ष वातावरणमा निर्वाचन भएको नभएको पर्यवेक्षण गर्ने अध्यक्ष गौतमले बताए ।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका डिआइजी विनोद घिमिरेले अघिल्ला निर्वाचनमा भन्दा सुरक्षाका दृष्टिले भरपर्दो वातावरण आगामी दिनमा हुने देखिएको बताए । कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा मतदानस्थलको वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरिएकाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने डिआइजी घिमिरेले बताए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka