काठमाडौं । बंगलादेशमा राजनीतिक तनाव पुनः चर्किँदा हिंसात्मक घटनामा परी तीन जनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रहरी चौकीदेखि राजनीतिक नेताका घरसम्म आक्रमण र आगजनीका घटना भएका छन् ।
मंगलबार र बुधबार भएका घटनामा प्रतिबन्धित अवामी लिग र छात्र लिगका कार्यकर्ताहरू संलग्न रहेको बताइएको छ । उनीहरूले गोपालगञ्जको टुंगीपाडास्थित प्रहरी चौकीमा आक्रमण गर्नुका साथै तोडफोड र आगजनी गरेका छन् ।
प्रहरीका अनुसार आक्रमणकारीले हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई समेत छुटाएर लगेका छन् । चौकीमा पार्किङ गरिएका सवारीसाधनमा पनि आगो लगाइएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, रबरको गोली र साउन्ड ग्रेनेड प्रयोग गरेको थियो ।
प्रहरी चौकीमा आक्रमणपछि प्रदर्शनकारीहरू त्यहाँबाट करिब डेढ किलोमिटर टाढा रहेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसद एसएम जिलानीको घर पुगेका थिए । उनीहरूले घरमा तोडफोड गरी आगजनी गरेको बीएनपीका स्थानीय नेताहरूले पुष्टि गरेका छन् ।
यसैगरी, गाजीपुरस्थित पूर्वमन्त्री एकेएम मोजम्मेल हकको पुरानो घरमा पनि १५ देखि २० जनाको समूहले ढोका फोडेर आगजनी गरेको स्थानीयले बताएका छन् । आगो नियन्त्रणमा लिन दमकलका दुईवटा गाडी परिचालन गरिएको थियो ।
राजधानी ढाकामा पनि कैयौँ बस जलाइएका छन् भने दुई स्थानमा घरेलु बम विस्फोट भएका छन् । फरिदपुरमा बीएनपीका एक नेताको हत्या भएको छ ।
हिंसात्मक घटना बढेपछि गोपालगञ्जमा थप प्रहरी र सेना परिचालन गरिएको छ । टुंगीपाडामा इन्टरनेट तथा मोबाइल सेवा प्रभावित भएको खबर छ । प्रहरीले सार्वजनिक भिडियो फुटेजका आधारमा आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरिरहेको जनाएको छ ।
किन बढ्दैछ बंगलादेशमा हिंसा ?
बंगलादेशमा पछिल्लो राजनीतिक हिंसाको सम्बन्ध पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ताच्युतपछि उत्पन्न राजनीतिक तनावसँग जोडिएको छ ।
मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि उनका समर्थकहरू आक्रोशित बनेका छन् ।
हसिना सरकार ढलेपछि अन्तरिम सरकारले अवामी लिग र त्यसको विद्यार्थी संगठन छात्र लिगमाथि प्रतिबन्ध लगाएको थियो ।
यता, सन् २०२६ फेब्रुअरीमा हुने आमनिर्वाचनका लागि बीएनपी र जमात–ए–इस्लामीले तयारी तीव्र पारेका छन् । तर, अवामी लिगलाई निर्वाचन प्रक्रियाबाट बाहिर राखिएको छ । यसले बंगलादेशको राजनीतिक ध्रुवीकरण र अस्थिरता थप बढाएको छ ।
