काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायर खेल आज हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको हो। लगातार पहिलो र दोस्रो संस्करणको फाइनल खेलेको सुदूरपश्चिम यसपटक पनि उपाधि प्रतिस्पर्धामा पुग्ने लक्ष्यमा छ।
यता, चितवन राइनोज भने पहिलोपटक दोस्रो क्वालिफायर खेल्दैछ। एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
एनपीएलको पहिलो संस्करणमा प्लेअफसम्म पुगेको चितवन एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो। दोस्रो संस्करणमा भने सातौँ स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो। तेस्रो संस्करणमा उत्कृष्ट पुनरागमन गरेको चितवन पहिलोपटक फाइनल नजिक पुगेको छ।
सुदूरपश्चिमका लागि भने दोस्रो क्वालिफायरको अनुभव नयाँ होइन। पहिलो र दोस्रो संस्करणमा लगातार फाइनल खेलेको टोली यसपटक पनि फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ।
यस खेलको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
