काठमाडौं । भारतमा ६४९ मेगावाट विद्युत् निर्यात गर्ने व्यवस्थाको म्याद सकिएपछि नेपालले दैनिक ठूलो आम्दानी गुमाउने भएको छ। भारतबाट समयमै निर्यात अनुमति नपाउँदा नेपाल विद्युत् प्राधिकरणले उत्पादन भएको अतिरिक्त बिजुली बिक्री गर्न नसक्ने अवस्था आएको हो।
भारतका हरियाणा, उत्तर प्रदेश र बिहारमा विद्युत् आपूर्ति गर्ने सम्झौताको म्याद सकिएपछि प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्जमार्फत बिजुली बिक्री गर्न अनुमति मागेको थियो। तर, प्रस्ताव पठाएको करिब तीन महिना बितिसक्दा पनि भारतबाट स्वीकृति प्राप्त भएको छैन।
नेपालले यसअघि द्विपक्षीय सम्झौताअनुसार हरियाणामा ४०४ मेगावाट तथा उत्तर प्रदेश र बिहारमा २०५ मेगावाट विद्युत् बिक्री गर्दै आएको थियो। उक्त सम्झौताको म्याद अक्टोबर मसान्तमा सकिएको हो।
यसैगरी, बंगलादेशमा निर्यात हुँदै आएको ४० मेगावाट विद्युत्को मौसमी सम्झौता पनि नोभेम्बर १५ देखि सकिएको छ। नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्दै आएको थियो।
भारत र बंगलादेशमा गरी ६४९ मेगावाट विद्युत् निर्यात रोकिँदा प्राधिकरणले दैनिक करिब १३ करोड ५८ लाख रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाउने अनुमान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशमा दैनिक २ हजार ६०० देखि २ हजार ७०० मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ। आन्तरिक माग भने २ हजार २०० देखि २ हजार ३०० मेगावाटको हाराहारीमा छ। यसले गर्दा उत्पादन भएको अतिरिक्त बिजुली बिक्री गर्न नसक्दा समस्या थपिएको छ।
यद्यपि, विद्युत् प्रणाली सुरक्षित राख्न प्राधिकरणले २०० देखि ३०० मेगावाटसम्म विद्युत् जगेडामा राख्नुपर्ने हुन्छ। कुनै ठूलो आयोजना अचानक बन्द भएमा आन्तरिक आपूर्तिमा समस्या नआओस् भनेर यस्तो व्यवस्था गर्नुपर्ने प्राधिकरणको भनाइ छ।
वर्षायाममा नदीमा पानीको बहाव बढी हुँदा विद्युत् उत्पादन बढ्ने गर्छ। तर, नोभेम्बरको अन्त्यदेखि नदीमा पानीको बहाव घट्दै जाने र हिउँदमा उत्पादनसमेत कम हुने भएकाले नेपालले भारतबाटै विद्युत् आयात गर्नुपर्ने अवस्था आउनेछ।
प्राधिकरणको अनुमानअनुसार जनवरीको मध्यदेखि मार्चको मध्यसम्म निरन्तर करिब ५०० मेगावाट विद्युत् आयात गर्नुपर्ने हुन सक्छ। माग बढी हुने समयमा यो परिमाण ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्नेछ।
