फायल फोटो
काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् । आफ्नो निवास वरिपरि ठूलो संख्यामा हतियारधारी सुरक्षाकर्मी परिचालन गरेर आवतजावतमा रोक लगाइएको उनको आरोप छ ।
वाङ्चुकले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूलाई घरबाहिर निस्कन नदिइएको बताएका हुन् । सरकारले भने आफूलाई घरमै बस्न सल्लाह दिएको बताइरहेको उनको भनाइ छ ।
उनले गत वर्ष लेहमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएकाहरूको विषयमा गठित न्यायिक अनुसन्धान आयोगको प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् । साथै, कडा जाडोको समयमा हतारमा लद्दाख स्वायत्त पहाडी विकास परिषद्को निर्वाचन गराउन खोजिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
वाङ्चुकले लद्दाखभरि विरोध प्रदर्शन भइरहेको दाबी गर्दै आफ्नो एक्स, इन्स्टाग्राम र युट्युब खाताको पहुँचसमेत घटाइएको आरोप लगाएका छन् ।
गत नोभेम्बर ११ मा लेहमा प्रस्तावित धर्नास्थलबाट प्रहरीले आफूलाई हटाएर निवास पुर्याएको उनको भनाइ छ । त्यसपछि निवास वरिपरि सुरक्षाकर्मी तैनाथ गरिएको र आफ्नो आवतजावत सीमित पारिएको उनले बताएका छन् ।
लद्दाख स्वायत्त पहाडी विकास परिषद्को निर्वाचन आगामी डिसेम्बर ४ मा हुँदैछ । अत्यधिक चिसोका कारण हिउँदमा ठूलो संख्यामा स्थानीय बासिन्दा क्षेत्रबाहिर जाने भएकाले निर्वाचनको मिति सार्नुपर्ने माग वाङ्चुकसहित स्थानीय नेताहरूले गर्दै आएका छन् ।
यसैबीच, लद्दाख प्रहरीले भने निर्वाचन अवधिमा लागू गरिएका निषेधाज्ञासम्बन्धी व्यवस्थाअनुसार सार्वजनिक सभा, प्रदर्शन र जमघट नगर्न भनेको छ ।
