विराटनगर । छठ पर्व नजिकिएसँगै विराटनगरसहित देशका विभिन्न सहरमा तयारी सुरु भएको छ । छठ पूजाका लागि नदी, खोला, नहर तथा पोखरी किनारको सरसफाइ, घाट निर्माण र सजावटको काम अघि बढाइएको छ ।
विराटनगरमा सिङ्घिया खोला, केसलिया खोला र कोशी सिंचाइ नहरलगायत स्थानमा सरसफाइ सुरु गरिएको छ । यस्तै, छठ पूजा गरिने विभिन्न स्थानमा स्वागतद्वार निर्माण तथा घाट व्यवस्थापनको काम पनि थालिएको छ ।
विराटनगरमा छठ पर्व विशेष उल्लासका साथ मनाइन्छ । पर्वलाई व्यवस्थित बनाउन स्थानीयस्तरमा विभिन्न समिति तथा समूहले तयारी अघि बढाएका छन् । विराटनगरसँगै काठमाडौं, जनकपुर र वीरगन्जलगायत सहरमा पनि छठको चहलपहल बढ्न थालेको छ ।
काठमाडौं उपत्यकामा यस वर्ष १७ स्थानमा छठघाट निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, वाग्मती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा पूजाको तयारी भइरहेको छ ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार त्यहाँ ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट तयार पारिँदैछ । पूजास्थलमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सफा गर्ने तथा आवश्यक पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ ।
काठमाडौंमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएको र व्रतालुलाई सहज हुने गरी तयारी अन्तिम चरणमा पुर्याइएको सिंहले बताएका छन् ।
काठमाडौंमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु छठ पूजाका प्रमुख स्थल हुन् । यस्तै विष्णुमती र नक्खु नदी किनार, तीनकुने दोभान, टंकेश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि छठ पूजा गरिन्छ ।
छठ पर्व चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइन्छ । यस क्रममा व्रतालुले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पूजा गर्छन् ।
यस वर्ष कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुनेछ ।
विशेषगरी तराई–मधेसमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ ।
