फायल फोटो
विराटनगर, कात्तिक २६। मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा पटका पड्काउने क्रममा सल्किएको आगोले पाँचवटा घर तथा अन्य संरचना जलेर नष्ट भएका छन्। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ः४५ बजेदेखि सुरु भएको आगलागीले स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुईतले घरसहित गाईगोठ, भान्छाघर र भण्डारघर जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणमा लिन रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो। स्थानीयवासी र सुरक्षाकर्मीसमेतको सक्रियतामा मध्यरातमा मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो फैलिने क्रममा गाईगोठमा रहेका गाईगोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ।
प्रहरीले पटका पड्काउने क्रममा आगो सल्किएर घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। यद्यपि आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।
आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
