काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ। सोमबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको हो।
चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४३ रनको योगदान दिए। उनले २१ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, इशान पाण्डेले २५, अविजित शेरफन रदरफोर्डले २१, आरिफ शेखले २० र विनोद भण्डारीले ११ रन बनाए।
बलिङतर्फ चितवनका रञ्जित कुमारले तीन विकेट लिए। रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवनका कप्तान रवि बोपारा अर्धशतक बनाउन एक रनले चुके। उनले ४० बलमा तीन चौका र दुई छक्कासहित ४९ रन बनाए।
पावर प्लेमै ओपनर देव खनाल सात र अर्जुन साउद १५ रनमा आउट भएपछि चितवन दबाबमा परेको थियो। त्यसपछि बोपाराले मध्यक्रम सम्हाल्ने प्रयास गरे। तर, स्कट कुगेलेइनको बलमा ठूलो सट खेल्ने क्रममा उनी दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए।
चितवनका लागि डेविड मलानले १७ बलमा एक चौकासहित १६ रन बनाए। पहिलो खेलमा अर्धशतक बनाएका मलान यसपटक भने प्रभावशाली प्रदर्शन गर्न सकेनन्। उनले बोपारासँग तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए।
विवेक यादव र शिकन्दर राजाले समान १५ रन जोडे।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ।
