विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले साइबर सेना खडा गरेर पार्टीका पुराना नेता तथा कार्यकर्तालाई गालीगलौज गर्न लगाउने गरेको आरोप लागेको छ।
नेपाली कांग्रेसको देउवा समूहबाट निर्वाचित विराटनगर महानगर सभापति रिचार्ड गौतमले विराटनगरमा आयोजित तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन्।
पार्टी विभाजनसँगै संस्थापन पक्षबाहिर रहेका गौतमले थापाको कार्यशैलीप्रति आक्रामक टिप्पणी गर्दै आएका छन्। उनले गगन थापाले पार्टी कब्जा गरेर साइबर सेना परिचालन गर्ने गरेको र पार्टीका पुराना नेताहरूले कुनै विषयमा बोले वा लेखे पनि सामाजिक सञ्जालमार्फत गालीगलौजको वर्षा गराउने गरेको आरोप लगाए।
गौतमले सामाजिक सञ्जालमार्फत समेत नेपाली कांग्रेस कमजोर र निरीह बन्दै गएको टिप्पणी गर्दै आएका छन्। कांग्रेसले प्रतिपक्षमा रहेरसमेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ।
शुभकामना आदानप्रदान कार्यक्रममा थप आक्रामक रूपमा प्रस्तुत भएका गौतमले कांग्रेसको चारतारे झण्डा र रुख चिह्न अझै अदालतमा रहेकाले गगन थापालाई मोरङबाट मात्र नभई देशभरबाटै घुँडा टेकाउने चेतावनीसमेत दिए।
गौतमको पछिल्लो अभिव्यक्तिले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र दुई पक्षबीचको राजनीतिक टकराव अझै मत्थर नभएको संकेत गरेको छ।
