विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरेर २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा घटनास्थल पुगेको टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको थियो ।
प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन् ।
त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरको जिप र राजकुमार को.१ च ८१८२ नम्बरको जिपका चालक हुन् ।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
