पोखरा । नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकमार्फत प्रचारप्रसार गर्ने उद्देश्यले सात देशका कन्टेन्ट क्रिएटरहरू नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका हुन्।
उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैली समेटिएका भिडियो सामग्री तयार गरी विश्वभर प्रचार गर्नेछन्।
कार्यक्रमअन्तर्गत उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन्। पोखरामा प्राकृतिक सौन्दर्य र पर्यटकीय गतिविधि, चितवनमा वन्यजन्तु तथा थारू संस्कृति र बर्दियामा वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनलाई प्राथमिकता दिइनेछ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ अगस्ट १९ मा टिकटकसँग भएको समझदारीअनुसार ‘लाइफटाइम एक्सपिरियन्स’ अभियान सञ्चालन गरिएको हो।
यस अभियानमार्फत टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा नेपालको पर्यटनसम्बन्धी सामग्री विश्वभर पुर्याएर नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
