Premier Cables
Premier Steel

अर्थ

तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको उपहार

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८३  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत गोलाप्रथाबाट तामाङ बम्पर उपहारका लागि छनोट भएकी हुन् ।

तामाङले दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरेकी थिइन् । सामान खरिद गर्दा प्राप्त गरेको बिलमा रहेको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो ।

विज्ञापन

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएपछि उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँको उपहार जितेको जानकारी गराएका थिए ।

सुरुमा फोनमा आएको खबरलाई जिस्क्याएको ठानेकी तामाङले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि मात्रै आफूले उपहार जितेको विश्वास गरेकी थिइन् ।

विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेता पनि छनोट भएका छन् । उनीहरूले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दैनिक उपहारको घोषित रकम १ लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा १ लाख रुपैयाँ जम्मा हुनेछ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार असोज १६ देखि ३१ गतेसम्म २ लाख ७५ हजार ८८४ कारोबारका बिल कार्यक्रममा प्रविष्ट भएका थिए । क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए ।

विभागले बम्पर तथा दैनिक उपहारका सबै विजेतालाई कात्तिक १५ गतेभित्र सामान खरिद गर्दाको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा उपस्थित भएर पुरस्कार दाबी गर्न आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka