काठमाडौं । हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल अक्टोबर १७ सम्मका लागि बन्द गरिएको छ।
सोमबार जारी उडानसम्बन्धी सूचनाअनुसार विमानस्थल शनिबार स्थानीय समयअनुसार मध्यरातसम्म बन्द रहनेछ। साताको अन्त्यमा भएका दुई आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएपछि विमानस्थल सञ्चालन स्थगित गरिएको हो।
साउदी अरबका उड्डयन अधिकारीहरूले सुरक्षा जाँच तथा निगरानीलाई थप प्रभावकारी बनाउन उडान स्थगनको अवधि लम्ब्याएका छन्।
यसैबीच, साउदी अरबको अत्याधुनिक वायु रक्षा प्रणालीलाई छल्दै हुथी विद्रोहीका मिसाइल विमानस्थलसम्म कसरी पुगे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।
एसोसिएटेड प्रेस (एपी)ले प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै जनाएअनुसार हुथी विद्रोहीले साउदी अरबको रक्षा प्रणालीलाई अलमल्याउन ठूलो संख्यामा ड्रोन प्रयोग गरेका थिए। त्यसपछि क्रुज र बलिस्टिक मिसाइल एकैसाथ प्रहार गरी विमानस्थललाई निशाना बनाइएको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ।
घटनापछि विमानस्थलको सुरक्षा व्यवस्था र वायु रक्षा प्रणालीको प्रभावकारितामाथि थप अनुसन्धान भइरहेको छ।
स्रोत: डीडब्ल्यू, एसोसिएटेड प्रेस
