विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणनामा उम्मेदवार अमृतकुमार अर्याल आठौँ स्थानमा रहेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार अर्यालले १७६ मत प्राप्त गरेका छन्।
हालसम्म गणना भएको १ हजार ६८९ मतमध्ये रामहरि खतिवडा ७६८ मतसहित पहिलो स्थानमा छन्। अजयबाबु सिवाकोटी ५४८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था रहेकाले खतिवडा र सिवाकोटी अग्रस्थानमा देखिएका छन्।
मतगणनामा डिल्लिराज सुवेदी ४३९ मतसहित तेस्रो, देवेन्द्रराज कँडेल ३३४ मतसहित चौथो र विकास कोइराला २८४ मतसहित पाँचौँ स्थानमा छन्।
त्यस्तै, राजीव ढुंगाना २५३ मतसहित छैटौँ, रमेशप्रसाद धमला २०५ मतसहित सातौँ र अमृतकुमार अर्याल १७६ मतसहित आठौँ स्थानमा रहेका छन्। विमलराज क्षेत्रीले ६१ मत प्राप्त गर्दै नवौँ स्थानमा छन्।
खुला सहमहामन्त्री पदमा नौ जना प्रतिस्पर्धामा रहेकामा अर्यालले हालसम्म विमलराज क्षेत्रीलाई मात्र पछाडि पारेका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। बाँकी मतगणनापछि उम्मेदवारहरूको अन्तिम मतपरिणाम र निर्वाचित हुने सहमहामन्त्रीको टुंगो लाग्नेछ।
