विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा उत्पन्न विवादप्रति क्षेत्रका विभिन्न वडा सभापतिहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
शुक्रबार मोरङको गछियामा पत्रकार सम्मेलन आयोजना गर्दै सुन्दरहरैंचा र बुढीगंगाका पाँच जना वडा सभापतिले अधिवेशनलाई पार्टीको विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार अघि बढाउन माग गरेका हुन्।
संयुक्त प्रेस विज्ञप्तिमार्फत उनीहरूले पार्टीभित्र उत्पन्न विवादलाई संवाद, सहमति र विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा विवाद समाधानको जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै परिस्थिति थप जटिल बनाइनु दुःखद् भएको बताएका छन्।
वडा सभापतिहरूले कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनीहरूले संग्रौलाको पहल तथा भूमिकाका कारण क्रियाशील सदस्यता एकलौटी ढंगले भरिएको आरोप लगाउँदै त्यसकै कारण क्षेत्र नम्बर ६ मा विवाद उत्पन्न भएको दाबी गरेका छन्। उक्त आरोप सम्बन्धित पक्षबाट पुष्टि हुन बाँकी छ।
उनीहरूले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पार्टी विधान, लोकतान्त्रिक मूल्य र संगठनको हितलाई केन्द्रमा राखी विवाद समाधान गर्न नेतृत्वसँग आग्रह गरेका छन्।
विशेषगरी तरुण तथा युवा कार्यकर्ताको क्रियाशील सदस्यताको विषय समाधान गरेर मात्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ। अधिवेशनलाई विवाद र विभाजनको माध्यम नभई सहमति, एकता र लोकतान्त्रिक अभ्यासको अवसर बनाउनुपर्ने उनीहरूको भनाइ छ।
वडा सभापतिहरूले विधि र विधानविपरीत ढंगबाट अधिवेशन अघि बढाइए आवश्यक परे न्यायिक तथा कानुनी उपचारको बाटो अवलम्बन गर्ने चेतावनीसमेत दिएका छन्।
उनीहरूले मोरङ–६ को अधिवेशन पार्टी विधान, स्थापित प्रक्रिया, सबै पक्षको सहभागिता र निष्पक्ष वातावरण सुनिश्चित गरेर मात्र सम्पन्न गर्नुपर्ने बताएका छन्।
यसअघि बुधबार मोरङ–६ को क्षेत्रीय अधिवेशनस्थलमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएपछि झडप र तोडफोड भएको थियो। घटनापछि निर्वाचन प्रक्रिया प्रभावित भएको थियो।
विवादपछि कांग्रेस केन्द्रले मोरङ जिल्ला समितिका सहसचिव सञ्जयकुमार मण्डललाई निर्वाचन प्रक्रिया संयोजनको जिम्मेवारी दिएको छ र शुक्रबारदेखि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
शुक्रबार बिहान ७ बजेदेखि बुढीगंगा गाउँपालिका–३ बाँसबारीस्थित राजवंशी खवास सामुदायिक भवनमा क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको छ।
संयुक्त विज्ञप्तिमा सुन्दरहरैंचा–४ का वडा सभापति कैलास बस्नेत, सुन्दरहरैंचा–७ का कुबिर नाल्बो, सुन्दरहरैंचा–५ का निलबहादुर शाही, बुढीगंगा–२ का दिपेन्द्र न्यौपाने र सुन्दरहरैंचा–६ का संजित राईले हस्ताक्षर गरेका छन्।

