काठमाडौं । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलमा अड्किएको ‘राइनो क्रुजसिप’लाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ ।
प्रशासनका अनुसार क्रुजलाई सकभर क्रेनको सहायताले नदी किनारमा सुरक्षित रूपमा ल्याउने प्रयास भइरहेको छ । तीन वटा क्रेन प्रयोग गरी क्रुजलाई गैंडाकोटतर्फको किनारमा लैजाने प्रयास भइरहेको हो ।
आइतबार साँझ आएको भीषण बाढीले होटल रिभर क्राउन अगाडिबाट क्रुजलाई बगाएर नारायणी पुलसम्म पुर्याएको थियो । पुलको गैंडाकोटतर्फको पिलरमा क्रुज अड्किएपछि पुलमा समेत क्षति पुग्न सक्ने जोखिम बढेको थियो ।
राइनो क्रुजसिप कम्पनीका अनुसार क्रुजलाई नदी किनारका रुखमा २० एमएमका दुई वटा टुचिनमार्फत बाँधेर राखिएको थियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाँधिएको टुचिन नदीमा आएको ठूलो बाढीका कारण चुँडिएको कम्पनीको दाबी छ । क्रुज राखिएको स्थानमा दुई वटा रुख आएर अड्किँदा त्यसको दबाबले टुचिन चुँडिएको कम्पनीले जनाएको छ ।
क्रुजको तौल ७० टनभन्दा बढी रहेको बताइएको छ । यद्यपि, पानीमा तैरिरहेको अवस्थामा यसको भार तुलनात्मक रूपमा कम हुने कम्पनीको भनाइ छ । करिब डेढ वर्षअघि क्रुजलाई नारायणी पुलभन्दा माथिल्लो क्षेत्रमा ल्याइएको थियो ।
करिब १०० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको क्रुजमा एकपटकमा १८० जनासम्म यात्रु अट्न सक्ने क्षमता छ । करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो क्रुज नेपालकै पहिलो क्रुजसिपका रूपमा सञ्चालनमा आएको हो ।
