विराटनगर । लगातार भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै काेशीका पहाडी जिल्लामा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। इलाम र तेह्रथुममा पनि गाडी चलाउन पाइने छैन ।
जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार बिहीबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द रहनेछ। यो व्यवस्था भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सवारीसाधनमा लागू हुनेछ। जोखिमयुक्त भित्री सडकमा समेत रातको समयमा सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक रातको समयमा टाढाको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
त्यस्तै, जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित आयोजनालाई भनिएको छ। जोखिमको पूर्वसूचना प्राप्त भए जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि प्रशासनले आग्रह गरेको छ।
अचानक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र नदी–खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
तेह्रथुममा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द
तेह्रथुम । लगातार भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले असोज ८ गते बेलुका ९ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म मध्यपहाडी लोकमार्गसहित जिल्लाका अन्य भित्री सडक तथा बाटाघाटामा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिनअनुसार असोज ७ गतेदेखि ११ गतेसम्म नेपालभर भारी तथा अति भारी वर्षाको सम्भावना रहेको छ। गत वर्षको बाढी तथा पहिरोका कारण क्षति पुगेका तेह्रथुमका मध्यपहाडी लोकमार्गलगायत सडक तथा बाटाघाटा अझै पूर्णरूपमा सुरक्षित नभई जोखिमपूर्ण अवस्थामा रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
पाँचथरमा पनि चलाउन नपाइने
जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न रातको समयमा जिल्लास्थित सबै सडकमा सवारी आवागमन बन्द गरेको बताएको छ ।
असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । भारी तथा अतिभारी वर्षाको सम्भावनालाई ख्याल गर्दै विभिन्न सडक सुरक्षित नभएसम्म मेची राजमार्ग, तमोर कोरिडोर सडक, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, भेडेटार–रबि–राँकेलगायतका सडकमा सवारी आवागमन बन्द गरिएको हो ।
