काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं विमानस्थल पुगेका छन्। बुधबार साँझ मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा ट्रम्प पत्नी मेलानियासहित सी र उनकी पत्नी पेङ लियुआनको स्वागतका लागि पुगेका थिए।
सी विमानबाट ओर्लिएपछि रेड कार्पेट, अमेरिकी सेनाको ब्यान्ड र फ्लाईओभरसहित भव्य स्वागत गरिएको थियो। ट्रम्पले सीसँग हात मिलाउँदै मुस्कुराएर उनको काँधमा धापसमेत मारेका थिए।
यो स्वागत अमेरिका र चीनबीच व्यापार, सुरक्षा तथा भूराजनीतिक विषयमा तनाव कायम रहेका बेला भएको हो। अमेरिकी सञ्चारमाध्यमहरूले ट्रम्पको चीनप्रतिको व्यवहारलाई उनका परम्परागत सहयोगी राष्ट्रप्रतिको नीतिसँग तुलना गर्दै विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्।
ट्रम्प प्रशासनले क्यानडा र युरोपेली संघ (ईयू) जस्ता सहयोगीहरूसँग व्यापारिक विवादमा कडा कदम चाल्दै आएको छ। अर्कोतर्फ, अमेरिकाको प्रमुख रणनीतिक प्रतिस्पर्धी चीनका राष्ट्रपतिलाई भने ट्रम्पले उच्चस्तरीय सम्मानसहित स्वागत गरेका छन्।
अमेरिकी रिपब्लिकन सिनेटर रोजर विकरले समेत सीलाई निमन्त्रणा दिनु उपयुक्त नभएको धारणा व्यक्त गरेका छन्। उनले सीको नेतृत्वमा चीनले मानवअधिकार तथा अन्य विषयमा दमनकारी नीति अपनाएको आरोप लगाउँदै ट्रम्पको निर्णयको आलोचना गरेका हुन्।
चीनले इरानलाई अमेरिकी सेनाविरुद्ध प्रयोग हुने भूउपग्रह तस्बिर उपलब्ध गराएको विषयमा समेत ट्रम्पले कडा प्रतिक्रिया नदिएको समाचारमा उल्लेख छ। उनले चीनले आफूले गर्ने काम गरिरहेको र अमेरिकाले पनि चीनमाथि जासुसी गर्ने गरेको बताएका छन्।
व्यापार युद्धमा दुई महिनाको युद्धविराम
सीको भ्रमणका क्रममा अमेरिका र चीनबीच जारी व्यापारिक तनाव केही समयका लागि मत्थर पार्ने सहमति भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुई देशबीचको व्यापार युद्धविराम थप दुई महिनाका लागि लम्ब्याउने सहमति भएको छ।
यसअघि युद्धविराम नोभेम्बर १० मा समाप्त हुने तय थियो। नयाँ सहमतिअनुसार त्यसलाई जनवरी १० सम्म निरन्तरता दिने बताइएको छ।
सम्झौताअन्तर्गत अमेरिकाले चीनमाथि लगाएका केही अतिरिक्त ट्यारिफ तथा प्रतिबन्ध कार्यान्वयन स्थगित गर्नेछ। त्यसको बदलामा चीनले अमेरिकी उद्योगका लागि महत्वपूर्ण मानिने रेयर अर्थ मिनरल्सको आपूर्ति निरन्तर गर्ने सहमति जनाएको छ।
रेयर अर्थ मिनरल्स विद्युतीय सवारीसाधन, चिप्स, विमान तथा अन्य उच्च प्रविधिका उद्योगमा महत्वपूर्ण कच्चा पदार्थका रूपमा प्रयोग हुन्छन्। व्यापार युद्धका कारण आपूर्ति शृंखलामा उत्पन्न हुन सक्ने जोखिमलाई घटाउन दुई देशबीच भएको पछिल्लो सहमतिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
