काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको प्रलयकारी बाढी ७ हजार २ सय ३४ मिटर अग्लो लाङटाङ लिरुङ हिमालबाट ठूलो हिउँको ढिस्का खसेका कारण उत्पन्न भएको अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन्।
न्युजिल्यान्डको जीएनएस साइन्सका मुख्य वैज्ञानिक साइमन कक्सका अनुसार हिमालको करिब ५ हजार २ सय मिटर उचाइबाट खसेको विशाल हिमपहिरोले उपत्यकामा तीव्र वेगमा ढुंगा, माटो र लेदो बगाउँदै तल्लो तटीय क्षेत्रमा भीषण बाढी निम्त्याएको हो। सुरुमा ४.४ म्याग्निच्युडको भूकम्पका कारण बाढी आएको अनुमान गरिए पनि अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले भने हिउँको विशाल ढिक्का खसेर उत्पन्न भएको तीव्र ऊर्जाका कारण नै भूकम्पीय कम्पन मापन भएको स्पष्ट पारेको छ।
यस विपद्लाई भूगर्भविद्हरूले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रत्यक्ष दुष्परिणामका रूपमा औँल्याएका छन्।
बेलायती अन्टार्टिक सर्भेका ग्ल्याशियोलोजिस्ट डा. हमिस प्रितचार्डका अनुसार घटना हुनुभन्दा दुई दिनअघि लाङटाङ क्षेत्रको जमिनको तापक्रम विगत दुई वर्षयताकै उच्च विन्दुमा पुगेका कारण हिमाली सतह कमजोर बनेको थियो।
साउथ फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक जेसन गुले र कोलोराडो स्टेट युनिभर्सिटीका डान म्याकग्राथले पग्लिँदै गएका नेपालका हिमालहरू भविष्यका लागि ‘टाइम बम’ सरह घातक बनिरहेको चेतावनी दिएका छन्।
सन् २०२१ मा भारतको चमोली उपत्यकामा आएको विनाशकारी बाढीजस्तै जोखिम अहिले नेपाल लगायत स्विट्जरल्यान्ड र इटालीजस्ता मुलुकहरूमा तीव्र रूपमा बढेको वैज्ञानिक डा. सिमोन कुकको भनाइ छ।
विज्ञहरूले उच्च जोखिमयुक्त हिमाली तथा नदी तटीय क्षेत्रमा अव्यवस्थित पूर्वाधार निर्माण रोक्न, आधुनिक पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) जडान गर्न र स्थानीय स्तरमा विपद् पूर्वतयारीलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।
