काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ३ मिटरसम्म बढेको छ। बाढी पूर्वानुमान महाशाखाको अद्यावधिक जानकारीअनुसार धादिङको गल्छीस्थित बाढी मापन केन्द्रमा त्रिशूली नदीको जलसतहमा उल्लेख्य वृद्धि दर्ता गरिएको हो।
महाशाखाका अनुसार गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह तीव्र रूपमा बढ्न सक्ने सम्भावना छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी वर्षा जारी रहेको जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानका साथै गण्डकी, कोसी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविद्हरूले प्रभावित क्षेत्रहरूमा अझै थप वर्षा हुन सक्ने आकलन गर्दै स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
