काठमाडौँ । काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य राजमार्ग काठमाडौँ-मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा बाढीले सडक कटान गरेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ।
लगातारको भारी वर्षासँगै आएको बाढीले कृष्णभीर नजिकै सडकको तल्लो भाग कटान गरेपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो। सडक कटानका कारण काठमाडौँ भित्रिने र बाहिरिने हजारौँ सवारी साधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
घटनास्थलमा सुरक्षा निकाय तथा सडक विभागको टोली परिचालन गरी सडक मर्मत र यातायात सञ्चालनको प्रयास भइरहे पनि वर्षा र कटान जारी रहेकाले काममा चुनौती थपिएको छ। डिभिजन सडक कार्यालयका अनुसार कटान ठूलो रहेकाले बाटो पुनः सञ्चालनमा ल्याउन केही समय लाग्नेछ।
प्रहरी तथा स्थानीय प्रशासनले सडक खुलाउने प्रयास भइरहेकाले अत्यावश्यक बाहेक सो क्षेत्रमा यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेका छन्।
