विराटनगर । विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरले विपद्पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार सहयोग रकम जम्मा गरेको छ।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्पतालले उक्त रकम कोषमा जम्मा गरेको हो।
अस्पतालका सञ्चालक अजय यादवले विपद्को कठिन घडीमा आफ्नो संस्थाको तर्फबाट मानवीय सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए।
विपद्को समयमा सानो सहयोगले पनि पीडितको जीवनमा ठूलो आशा जगाउन सक्ने उल्लेख गर्दै उनले सक्ने सबै व्यक्ति तथा संघसंस्थालाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न आग्रह गरेका छन्।
“हातेमालो गरौँ, पीडितको साथ बनौँ,” यादवले भने।
विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरले देशमा आइपरेको विपद्को समयमा पीडित नागरिकको राहत र सहयोगका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
