विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार प्रदेश सभामा भएको मत विभाजन प्रक्रियामा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत खसेको छ।
कुल ९३ सदस्यीय (हाल ९२ जना कायम) कोशी प्रदेश सभामा सरकार गठन वा बहुमत सिद्ध गर्नका लागि ४७ मत आवश्यक पर्छ। मतदानमा नेकपा (एमाले)का ४० जना र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्य गरी ५७ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन्।
त्यसैगरी, मुख्यमन्त्री कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २२ जना सांसदहरूले मतदान गरेका छन्। प्रदेश सभामा कांग्रेसका कुल २९ जना सदस्य रहेकोमा ७ जना सांसदहरू भने सोमबारको बैठकमा अनुपस्थित रहेका थिए।
संसद्मा रहेका अन्य दलहरूमध्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित ५ जना सदस्यमध्ये ४ जनाले ‘मत दिन्न’ (तटस्थ) पक्षमा मतदान गरेका छन्।
यस्तै, जनता समाजवादी पार्टी (जसपा)की प्रदेश सभा सदस्य निर्मला लिम्बु पनि बैठकमा अनुपस्थित रहनुभएको थियो। सोमबारको बैठकमा कुल ८३ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो।
विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको निरन्तरता र सत्ता साझेदार दलहरूबिचको सहकार्यलाई अझ सुदृढ बनाएर लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
