इरान | ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदी मङ्गलबार इरान भ्रमणमा जाने भएका छन्। हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न उहाँ इरान जान लागेका हुन्।
भ्रमणका क्रममा उहाँले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा तथा द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले इरान र ओमानबीच जारी राजनीतिक छलफललाई अघि बढाउने बताएका छन्।
क्षेत्रीय शान्ति तथा सुरक्षा मजबुत बनाउने र इरान–ओमानबीचको सहयोग विस्तार गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ।
फेब्रुअरी २८ मा मध्यपूर्वमा युद्ध सुरु भएयता इरानले तेल तथा ग्यास ढुवानीका लागि महत्वपूर्ण हर्मुज जलघाँटीमा नियन्त्रण कायम राखेको छ। जलमार्ग प्रयोग गर्ने जहाजले अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था रहेको बताइएको छ।
इरान र ओमानले हर्मुज हुँदै जहाज आवागमनका लागि नयाँ व्यवस्था र मार्गबारे छलफल गरिरहेका छन्। तर प्रस्तावित व्यवस्थासम्बन्धी सम्झौता भने अझै अन्तिम भइसकेको छैन।
अमेरिकाले हर्मुज जलघाँटीलाई युद्धअघि कायम रहेको स्वतन्त्र नौवहन व्यवस्थामा फर्काउनुपर्ने बताउँदै आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेका छन्।
तेहरानले भने वार्ताबाट सहमति भए पनि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेलगायत आफ्ना माग पूरा नगरेसम्म जलमार्ग पूर्ण रूपमा खुला नगर्ने अडान राख्दै आएको छ। यसका कारण हर्मुज हुँदै अन्तर्राष्ट्रिय जहाजको नियमित आवागमन तत्काल सामान्य हुनेमा अनिश्चितता कायमै छ।
