काठमाडौं । ओमानको खाडीमा रहेको एक तेल ट्यांकरमाथि अमेरिकी सैन्य आक्रमण हुँदा मृत्यु भएका तीन भारतीय नागरिकको शव फेला परेको भारतका बन्दरगाह, जलमार्ग तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले जानकारी दिएका छन्।
सुरुमा बेपत्ता भएका भनिएका ती भारतीय नाविकहरूको शव फेला परेपछि मन्त्री सोनोवालले सामाजिक सञ्जाल एक्समार्फत घटनालाई अपूरणीय क्षति भएको बताएका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा उद्धार गरिएका चालकदलका सदस्यलाई शीघ्र स्वदेश फर्काउने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका छन्।
घटनापछि भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई बोलाएर आक्रमणप्रति कडा आपत्ति जनाएको छ। अमेरिकी राजदूत सर्जियो गोर काजाकिस्तान भ्रमणमा रहेका कारण दूतावासका उपप्रमुखलाई मन्त्रालयमा बोलाइएको बताइएको छ।
आक्रमणमा परेको ट्यांकरका भारतीय चालकदल सदस्यहरूलाई ओमानी सेनाले सुरक्षित रूपमा उद्धार गरेको थियो।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ नामक ट्यांकरले इरानबाट तेल ढुवानी जारी राख्दै नाकाबन्दी उल्लंघन गरेको आरोपमा कारबाही गरिएको हो। कमाण्डले जारी गरेको विज्ञप्तिमा पटक–पटक चेतावनी दिँदा पनि जहाजले बेवास्ता गरेपछि अमेरिकी विमानले ट्यांकरको इन्जिनलाई लक्षित गर्दै सटीक हतियार प्रहार गरेको उल्लेख गरिएको छ। अमेरिकी सेनाले उक्त कारबाहीको भिडियोसमेत सार्वजनिक गरेको छ।
यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापार मार्गको सुरक्षा तथा विदेशी जलक्षेत्रमा कार्यरत भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ।
अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गरेको थियो। इरानले होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमनमा नियन्त्रण कडा बनाएपछि अमेरिका उक्त कदम चाल्न पुगेको बताइएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अहिले पनि जारी छ। त्यसपछि इरानले इजरायल र अमेरिकाका क्षेत्रीय सहयोगी देशहरूमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरेको थियो। मार्चमा द्वन्द्व लेबनानसम्म फैलिएको थियो भने अप्रिलमा भएको युद्धविराम पनि टिक्न नसकेपछि पुनः सैन्य तनाव बढ्दै गएको छ।
इरान र अमेरिकाबीच तनाव कम हुने संकेत नदेखिएको अवस्थामा पछिल्लो घटनाले खाडी क्षेत्रको सुरक्षा अवस्थाबारे थप चिन्ता बढाएको छ।
