विराटनगर । झापा जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्दै पहिलो महिला प्रहरी प्रमुखका रूपमा आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आफ्नो कार्यशैलीबाट चर्चा कमाउन थालेकी छन्। गत माघमा संवेदनशील मानिएको यस जिल्लाको कमान्ड सम्हालेदेखि नै उनले ‘प्रहरी जनताको सेवक हो’ भन्ने मान्यतालाई व्यवहारमा उतार्न नागरिकसँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिएकी छन्।
भारतसँगको खुला सीमा जोडिएको झापामा सीमा अपराध, चोरी(तस्करी, लागूऔषध ओसारपसार र बढ्दो सहरीकरणका कारण साइबर अपराध तथा घरेलु हिंसा जस्ता समस्या ठूला चुनौतीका रूपमा छन्। यी जटिलता चिर्न एसपी खड्काले परम्परागत कार्यशैली फेर्दै समुदायसँगको साझेदारीलाई बलियो बनाएकी छन्।
विशेषगरी युवा पुस्तालाई बर्बादीतर्फ धकेलिरहेको ‘लागूऔषध नियन्त्रण’ लाई उनले प्रहरी एक्लैको नभई परिवार, विद्यालय र समाजको साझा दायित्वका रूपमा अघि बढाएकी छन्। सार्वजनिक भेटघाट, गुनासो सुन्ने अभियान र स्थानीय तहसँगको सहकार्यले प्रहरीप्रति नागरिकको विश्वास बढाउन अह्म भूमिका खेलेको छ।
संवेदनशील भौगोलिक अवस्था र राजनीतिक संवेदनशीलता बोकेको झापामा शान्ति सुरक्षा कायम राख्नु चुनौतीपूर्ण छ। महिला तथा बालबालिकाविरुद्धका अपराध न्यूनीकरण, निष्पक्ष अनुसन्धान, र सेवाग्राहीलाई छिटोछरितो सेवा दिनु उनको मुख्य जिम्मेवारी हो।
सुरक्षा क्षेत्रका जानकारहरूका अनुसार, एसपी खड्काको सुरुवाती नागरिकमैत्री कदम सकारात्मक भए पनि उनको वास्तविक मूल्यांकन अपराध नियन्त्रणको परिणाम र सुरक्षा व्यवस्थापनको प्रभावकारिता बाटै हुनेछ। आन्तरिक प्रशासनिक सुधार र मातहतका कर्मचारीको कार्यव्यवहारमा समेत सुधार गर्दै यो समुदायकेन्द्रित अभियानलाई निरन्तरता दिन सके उनको कार्यकाल झापा प्रहरी इतिहासमा एक फरक र सफल अध्याय बन्न सक्नेछ।
झापाको शान्ति सुरक्षा सुदृढ गर्न एसपी खड्काले अघि बढाएका यी समुदायकेन्द्रित प्रयासहरूले दीर्घकालमा कस्तो प्रभाव पार्ला ? भन्ने अहिले चर्चा हुन थालेको छ ।
