काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासको खपत, व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न आधुनिक प्रविधिको प्रयोग गरी प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले ग्यास सिलिन्डरको एकीकृत लगत राख्न तथा व्यावसायिक र घरायसी प्रयोजनका सिलिन्डर वर्गीकरण गर्न निर्देशन दिएका हुन्।
सिलिन्डर कहाँ उत्पादन भयो, कहिले भरियो र यसको अन्तिम सुरक्षा परीक्षण कहिले गरिएको थियो भन्ने जस्ता महत्त्वपूर्ण जानकारी ट्रयाकिङ प्रणालीमार्फत स्पष्ट हुनुपर्नेमा उनले जोड दिए। कुरियर सेवामा पार्सल ट्रयाक गरेजस्तै ग्यास सिलिन्डरमा पनि ट्रयाकिङ आइडीमार्फत निगरानी राख्न सकिने र यसले भुक्तानी प्रणालीलाई समेत थप पारदर्शी र व्यवस्थित बनाउने उनको भनाइ थियो।
आगामी १५ देखि २० वर्षसम्म एलपी ग्यासको सान्दर्भिकता कायम रहने उल्लेख गर्दै सभापति अन्सारीले नेपाल आयल निगमलाई एक वर्षभित्र ग्यास वितरण र व्यवस्थापनका सम्पूर्ण समस्या समाधान गरी प्रणालीलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्।
