फायल फोटो
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले वर्तमान सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।
संसदीय दलको बैठक चलिरहेकै समयमा कांग्रेसले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएर अबदेखि विपक्षी बेन्चमा बस्ने जानकारी गराइसकेको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताउनुभयो।
कोशी प्रदेशसभामा कुल २९ सिट रहेको नेपाली कांग्रेसलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारलाई दिएको समर्थन जारी राख्न र विश्वासको मत दिन आग्रह गर्नुभएको थियो। तर, कांग्रेसले उक्त आग्रहलाई अस्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो।
मुख्यमन्त्री कार्कीले सोमबार नेकपालाई सरकारमा सहभागी गराएपछि आगामी शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ।
