Premier Cables
Premier Steel

कोशी प्रदेश

सप्तकोशीको कटान तीव्र, श्रीलङ्का टापुका सात परिवार सुरक्षित स्थानमा सारिए

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०३, २०८३  | साँझ ४:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी | सप्तकोशी नदीमा तीव्र कटान बढेपछि बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

नदीको कटानका कारण उच्च जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाएर स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए।

बिज्ञापन

श्रीलङ्का टापुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र रूपमा कटान गरिरहेको छ। कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको सहकार्यमा अस्थायी तटबन्ध निर्माण भइरहेको छ।

नदी किनार जोगाउन बालुवा र सिमेन्ट भरिएका बोरा राखेर तत्कालीन उपाय अपनाइएको नगरप्रमुख कार्कीले बताए। उनका अनुसार ठूलो बाढी आएमा यस्ता अस्थायी संरचनाले धान्न नसक्ने भएकाले दीर्घकालीन समाधान आवश्यक छ।

गत वर्ष कटान नियन्त्रणका लागि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौवटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी स्परसमेत नदीको कटानमा परिरहेको नगरप्रमुख कार्कीले बताए।

हाल श्रीलङ्का टापु र चिलिया टापु क्षेत्रमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बराहक्षेत्र र बेलका नगरपालिकाको समन्वयमा श्रमदानमार्फत कटान रोक्ने प्रयास भइरहेको छ। बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्नेजस्ता उपाय अपनाइएको छ।

नगरप्रमुख कार्कीका अनुसार यी तत्कालका लागि अपनाइएका अस्थायी उपाय मात्र हुन्। दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण र सप्तकोशी नदीको उचित व्यवस्थापन नगरेसम्म समस्या समाधान नहुने उनको भनाइ छ।

सप्तकोशी नदीको धार परिवर्तन भएर बनेको चिलिया टापुमा अहिले पनि ठूलो सङ्ख्यामा मानिसको बसोबास छ। बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक वर्ष बर्खायाममा नदीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्ने गरेको छ।

यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीको कटान तीव्र भएपछि करिब ६ देखि ७ सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेको नगरप्रमुख कार्कीले बताए। सप्तकोशीको धार विस्तारै पश्चिमतर्फ मोडिन थालेको संकेत देखिएकाले बाक्लो बस्ती भएका क्षेत्रमा जोखिम थप बढेको उनको भनाइ छ।

हरेक वर्ष सप्तकोशीको बाढीले श्रीलङ्का टापुका बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गर्दै आएको छ। नदीले बर्सेनि जमिन र बस्ती कटान गर्दा जोखिम बढ्दै गए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन। विशेषगरी बराहक्षेत्र–६ र ९ अन्तर्गतका चिलिया टापु, गरैया तथा श्रीलङ्का टापुका बासिन्दा वर्षौंदेखि बाढी र कटानको दोहोरो जोखिममा पर्दै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka