






विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् ।
सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट गर्दै शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक कार्यक्रममा भने,“समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएको छु । सोही अनुसार काम हुने छ ।”
मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार बताउँदै भने,“सिद्धान्तभन्दा बाहिर गई सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन् ।” थोरै थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा रहेको भन्दै उहाँले तिनलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको सुनाए ।
प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक मामिला मन्त्री राम रानाले सदस्यको नियमनमा चल्ने सहकारीलाई सदस्यहरुले नै नियमन गर्न नसकेको बताए । उनलले समितिलाई काम गर्न सहज बनाउनका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सहरका सहकारीमा बढी समस्या देखिएको बताए ।