विराटनगर । उपभोक्तालाई इन्धनको परिमाणमा ठगी गरिरहेको विशेष सूचनाका आधारमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले बजारमा अनुगमन तीव्र पारेको छ।
सोही क्रममा कार्यालयको टोलीले विराटनगर क्षेत्रका दुई मट्टीतेल डिपो र एक पेट्रोल पम्पमा आकस्मिक छापा मारेको छ।
अनुगमनका क्रममा विराटनगरमा शनि मन्दिरस्थित पूर्वाञ्चल सप्लायर्सले इन्धन बिक्रीमा व्यापक अनियमितता गरिरहेको फेला परेको छ। नापतौल टोलीले गरेको प्राविधिक परीक्षण अनुसार उक्त सप्लायर्सबाट पेट्रोल खरिद गर्दा प्रतिलिटर ५ लिटरमा ११ रुपैयाँ ८७ पैसा र डिजेलमा १९ रुपैयाँ ५० पैसा बराबरको परिमाण बढाएर ठगी भइरहेको कैफियत भेटिएको छ।
अनुगमन टोलीले भेटिएका अन्य डिपो तथा पम्पहरूमा निम्न अनुसारको कारबाही अघि बढाएको छ ।
ऐश्वर्य सप्लायर्सलाई पुर्जी: कैफियत पाइएपछि ऐश्वर्य सप्लायर्सका सञ्चालकलाई तीन दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा हाजिर हुन कडा निर्देशन दिइएको छ।
एकलाई क्लिनचिट: अनुगमन गरिएको अर्को डिपोको नापतौल र इन्धनको परिमाण मापदण्ड अनुसार नै सही पाइएपछि टोलीले सो डिपोलाई क्लिनचिट दिएको छ।
“उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने र नापतौलमा ठगी गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइनेछ,” गुणस्तर तथा नापतौल कार्यालयका एक अधिकारीले भने, “बजारमा इन्धनको गुणस्तर र सही परिमाण सुनिश्चित गर्न अनुगमनलाई अझै कडाइका साथ निरन्तरता दिइनेछ।”
