विराटनगर । भारतको बिहारस्थित लखीसराय जिल्लाको अशोकधाम मन्दिर नजिक सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ भने केही घाइते भएका छन्। मृतक सबै महिला रहेको जिल्ला प्रशासनले जनाएको छ।
लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारका अनुसार रेलवे हाल्ट नजिक विद्युत्को पोल ढलेपछि त्यसमा रहेको तारमा करेन्ट प्रवाह भइरहेको हल्ला फैलिएसँगै भक्तजनबीच त्रास फैलिएको थियो। त्यसपछि भीडमा भागदौड मच्चिँदा केही महिला एकअर्कामाथि खसेका थिए।
घटनाका बेला भक्तजनको लाम अशोकधाम रेलवे हाल्टसम्म पुगेको थियो र त्यहाँ दुईवटा रेलसमेत रोकिएका थिए। पुरुषतर्फको लामनजिक अचानक विद्युत्को पोल ढलेपछि तार खसेको र त्यसमा करेन्ट प्रवाह भइरहेको हल्ला फैलिएको प्रशासनले जनाएको छ। हल्लाका कारण महिलातर्फको लाममा एक्कासि चाप बढ्दा दुर्घटना भएको बताइएको छ।
जिल्ला मजिस्ट्रेट कुमारका अनुसार घटना करिब दुई मिनेटमै अचानक भएको थियो। घटनास्थलमा बिहान ३ बजेदेखि नै प्रहरी तथा प्रशासनका टोली परिचालन गरिएको थियो।
लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गर्दै पोल ढलेपछि करेन्ट लागेको प्रारम्भिक जानकारी आए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताउनुभएको छ।
बिहारका मन्त्री विजय कुमार सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै विद्युत् प्रवाह भइरहेको तार खसेको हल्लाले भागदौडको अवस्था सिर्जना भएको बताउनुभएको छ। गलत हल्ला फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गरिने उहाँले जानकारी दिनुभयो।
केन्द्रीय मन्त्री राजीव रञ्जन (लालन) सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। साउन महिनाको तेस्रो सोमबारका अवसरमा ठूलो सङ्ख्यामा भक्तजन अशोकधाम पुगेका कारण मन्दिर क्षेत्रमा बिहानैदेखि भीड लागेको थियो।
घाइतेहरूलाई लखीसराय सदर अस्पताल तथा नजिकका स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। घटनापछि प्रहरी, जिल्ला प्रशासन र आपत्कालीन सेवाका टोलीलाई घटनास्थलमा परिचालन गरिएको छ।
यसैबीच, बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ। मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सरकार पीडित परिवारको साथमा रहेको बताउनुभएको छ।
