विराटनगर | कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ बजे बस्ने भएको छ।
कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गर्नुभएको सूचनाअनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। अब भने प्रदेशसभा बैठक भदौ ३ गतेदेखि पुनः सञ्चालन हुने भएको हो।
सचिवालयका अनुसार आगामी बैठक कोशी प्रदेशसभा परिसर, कटहरीमा बस्नेछ। सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि बैठकसम्बन्धी सूचना प्रकाशित गर्नुभएको सचिव खड्काले जानकारी दिनुभयो।
नवौँ अधिवेशनको पहिलो बैठकदेखि २२औँ बैठकसम्म विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भएका थिए। यसअघि जेनजी आन्दोलनअघि प्रदेशसभा बैठक जिल्ला समन्वय समितिको परिसरमा निर्माण गरिएको भवनबाट सञ्चालन हुँदै आएको थियो।
