काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक मात्र नभएर देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्तिका कारण बारम्बार विकल्पको खोजी हुने र यसले अस्थिरता निम्त्याउने उल्लेख गरे।
जनताले फेरि अर्को विकल्प खोज्न नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “विकल्प खोज्नु मात्र समाधान होइन, आफैँमा भरपर्दो विकल्प बन्नु मुख्य कुरा हो। जब नेतृत्व सही बाटोबाट विचलित हुन्छ र जनआवाज सुन्न छाड्छ, तब मात्र विकल्पको खोजी हुन्छ।”
पार्टीको सांगठनिक संरचनाबारे बोल्दै लामिछानेले जनताको तीव्र भरोसा र परिवर्तनको चाहनाका कारण जग बलियो हुनुअघि नै रास्वपाले विशाल आकार लिएको स्वीकार गरे।
“जगले धान्न सक्नेभन्दा ठूलो आकारको बनेको हो कि भन्ने मलाई महसुस हुन्छ,” उनले थपे, “अब यसलाई सुरक्षित र सुदृढ बनाउन आवश्यक ठाउँमा टेको दिएर भए पनि अड्याउन हामी तयार हुनुपर्छ।” उनले पार्टीलाई जगैदेखि मजबुत बनाउँदै अघि बढाउने प्रतिबद्धता समेत जनाए।
