काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोसाक खरिदमा प्रचलित कानुन र मापदण्ड पालना गरिएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा उनले विगतमा सुरक्षा व्यवस्था र आवश्यक सामग्री व्यवस्थापनका लागि अपनाइएको प्रक्रियाअनुसार नै निर्वाचन प्रहरीको पोसाक खरिद गरिएको बताए । उनले पोसाक खरिद प्रक्रिया विगतको भन्दा व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउने प्रयास गरिएको दाबी गरे ।
“विगतमा जे जसरी सुरक्षा व्यवस्था र यससम्बन्धी सामग्रीको व्यवस्थापन गर्ने विषय समावेश गरियो, मापदण्डमा सोहीबमोजिम स्वीकृत गरेर अगाडि बढाइएको हो,” उनले भने ।
गृहसचिव श्रेष्ठले पोसाक खरिदमा गृह मन्त्रालयको तर्फबाट कुनै अनियमित गतिविधि नभएको पनि स्पष्ट पारे ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा सत्यता नरहेको बताए । उनका अनुसार निर्वाचन प्रहरीले आफ्नै समूहबाट मापदण्डअनुसार पोसाक खरिद गरेको र त्यसको रकम सम्बन्धित प्रहरीको बैंक खातामा सोझै भुक्तानी भएकाले नेपाल प्रहरीको कुनै तहको संलग्नता नरहेको हो ।
“निर्वाचन प्रहरीले स्वयं वा आफ्नै समूहबाट मापदण्डअनुसारको पोसाक खरिद गरेको र सो रकम उनीहरूकै बैंक खातामा सोझै भुक्तानी भएको हुँदा यसमा नेपाल प्रहरीको कुनै तहको संलग्नता हुने विषय भएन,” उनले भने ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आर्थिक वर्ष २०८२/८३ मा निर्वाचन प्रहरीको पोसाक खरिदका लागि सशस्त्र प्रहरी बललाई बजेट प्राप्त नभएको बताए । उनले पोसाक खरिदका लागि प्राप्त बजेटमा समेत कुनै अनियमितता नभएको स्पष्ट पारे ।
