विराटनगर । विराटनगर महानगरपालिका-४ स्थित नोबेल अस्पताल नजिकैको नहर किनार क्षेत्रमा विगत ४५ वर्षदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूको बस्ती तत्काल नहटाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकाय तथा सम्बन्धित पक्षहरूबीच भएको विस्तृत छलफल र समन्वयपछि हालका लागि बस्ती हटाउने कार्य स्थगित गरिएको हो।
करिब ६५ घरधुरी रहेको उक्त बस्तीको उठिबास रोक्न र समस्याको मानवीय समाधान खोज्न मोरङ क्षेत्र नं. ६ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रुबिना आचार्यले विशेष पहल लिनुभएको थियो।
मानवीय संवेदनशीलता र वर्षायामलाई ध्यानमा राखिँदै
हाल वर्षायामको समय रहेकाले उत्पन्न हुन सक्ने सम्भावित जोखिम, स्थानीय बासिन्दाको सुरक्षा तथा समग्र मानवीय संवेदनशीलतालाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्दै यो निर्णय गरिएको सांसद आचार्यले बताउनुभयो।
राज्यको कुनै पनि निर्णयबाट नागरिकको आधारभूत जीवनमा अनावश्यक कठिनाइ सिर्जना नहोस् भन्ने उद्देश्यले तत्कालका लागि बस्ती हटाउने कार्य रोकिएको हो। यस विषयमा थप समन्वयका लागि गृह मन्त्रालय तथा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयसँग समेत आवश्यक छलफल र संवाद भइरहेको सांसद आचार्यले जानकारी दिनुभयो ।
वास्तविक सुकुम्बासी पहिचानको काम जारी रहने
बस्ती हटाउने कार्य तत्कालका लागि रोकिए पनि वास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क सङ्कलन तथा आवश्यक कानुनी प्रक्रियाहरू भने प्रचलित कानुन र स्थापित विधिअनुसार निरन्तर अगाडि बढाइने भएको छ।
