विराटनगर । मोरङ क्षेत्र नं ६ की प्रतिनिधिसभा सदस्य रुबिना आचार्यले बुढीगंगा गाउँपालिका तथा विराटनगर महानगरपालिका–१२ को स्थलगत अनुगमन गर्दै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरेकी छन्।
अनुगमनका क्रममा सांसद आचार्यले स्थानीय नागरिकसँग भेटघाट गर्दै विकास निर्माण, आधारभूत सेवा, पूर्वाधार तथा जनजीवनसँग सम्बन्धित विभिन्न समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिएकी थिइन्। स्थानीयवासीले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुनेपछि उनले समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
सांसद आचार्यले जनप्रतिनिधिको मुख्य जिम्मेवारी नागरिकका आवश्यकता र अपेक्षालाई नजिकबाट बुझेर सम्बोधन गर्नु रहेको बताउँदै स्थानीय तहका विकासका प्राथमिकतालाई योजनाबद्ध रूपमा अघि बढाउन आफू निरन्तर सक्रिय रहने उल्लेख गरिन्।
उनले जनतासँगको प्रत्यक्ष संवादले स्थानीयस्तरमा रहेका वास्तविक समस्या पहिचान गर्न र समाधानका लागि प्रभावकारी कदम चाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
स्थलगत अनुगमन तथा संवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको समेत सहभागिता रहेको थियो। स्थानीयवासीले सांसद आचार्यसमक्ष सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य विकाससम्बन्धी विषयहरू उठाएका थिए।
सांसद आचार्यले जनताका सुझाव र आवश्यकतालाई नीति निर्माण तथा विकास योजनामा समेट्दै क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याइन्।
