विराटनगर । मोरङ प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका १० जना चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले मंगलवार मुख्य राजमार्ग तथा भित्री सडकमा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेको भन्दै विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो।
मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित कोशी राजमार्गको हुलास चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले चिकित्सकको सहयोगमा लागुऔषध सेवन परीक्षण (ड्रग टेस्ट) गरेको थियो।
चेकजाँचका क्रममा सार्वजनिक तथा निजी सवारी साधनका चालक गरी १० जनामा लागुऔषध सेवन गरेको पुष्टि (पोजिटिभ) भएको प्रहरीले जनाएको छ। उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी नचलाउन सबै चालकलाई आग्रह गर्दै यस्तो कार्य गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
साथै, मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाएको जानकारी वा शंका लागेमा नजिकको प्रहरी कार्यालय, प्रहरी हटलाइन १०० वा ट्राफिक प्रहरी हटलाइन १०३ मा जानकारी गराइदिन समेत मोरङ प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।
