विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा भएको एक घटनासम्बन्धी सिसिटिभी फुटेज माग्न गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनवर्षी नगर समिति सहसचिव छवि निरौलाले नगर प्रमुख श्याम राजवंशीले आफूलाई दुर्व्यवहार गर्दै थर्काएको आरोप लगाएका छन्।
निरौलाका अनुसार केही समयअघि शिक्षा शाखामा रास्वपा नेतासँग भएको विवादको सिसिटिभी फुटेज प्राप्त गर्न उनीहरूले सम्बन्धित शाखामा लिखित निवेदन दिएका थिए। शाखाले सोमबार आउन भनेपछि पुगेका उनीहरूलाई सम्बन्धित फुटेज नगर प्रमुखसँग रहेको भन्दै उहाँको कार्यकक्षमा जान सुझाव दिइएको थियो।
नगर प्रमुखको कार्यकक्षमा पुगेपछि आफूलाई “कानुन पढेर आउ, जिल्ला प्रशासन कार्यालय जाऊ” भन्दै अपमानजनक व्यवहार गरिएको निरौलाले बताएका छन्। उनले उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
निरौलाले फेसबुकमा लेखेका छन्, “आज एउटा सिसिटिभी फुटेजको विषयमा सामान्य जानकारी लिन नगरपालिका पुगेको थिएँ। तर, त्यहाँ पुगेपछि थाहा भयो— त्यहाँका क्यामेराहरू जनताको सुरक्षाका लागि भन्दा पनि मेयर साहेबको ‘इगो’ जोगाउनका लागि जडान गरिएका रहेछन्। सार्वजनिक चासोको विषयमा प्रश्न सोध्दा जुन शैलीमा थर्काइयो, त्यसले लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठाएको छ। फुटेज मेटिन सक्छ, तर नागरिकको मनमा कैद भएको व्यवहारको जवाफ कहिले दिने?”
यता, नगर प्रमुखको सचिवालयले भने निरौलाको आरोप अस्वीकार गरेको छ।
नगर प्रमुखका स्वकीय सचिव सुबोध दासले यस विषयमा प्रतिक्रिया दिँदै कुनै पनि प्रकारको दुर्व्यवहार वा थर्काउने व्यवहार नभएको दाबी गरे। उनका अनुसार पहिले नै छलफल भइसकेको विषयलाई पटक–पटक उठाउनुभन्दा नयाँ विषयमा काम गर्न आग्रह मात्र गरिएको हो।
“मेयरसाबले एउटै विषयलाई बारम्बार दोहोर्याउनु भन्दा कार्यालयमा अन्य पनि धेरै महत्वपूर्ण काम हुने भएकाले नयाँ विषय लिएर आउनुस् भन्नुभएको हो। थर्काउने वा दुर्व्यवहार गर्ने कुनै उद्देश्य थिएन,” दासले बताए।
यस घटनाबारे दुवै पक्षले फरक–फरक दाबी गरेकाले वास्तविकता सम्बन्धित निकायको छानबिनपछि मात्र स्पष्ट हुने देखिन्छ।
