






सुनवर्षी, (मोरङ) । हाम्रो विराटनगर संवाददाता मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ कुडौलीमा अवस्थित महेन्द्र आधारभूत विद्यालयमा पुग्दा गाईभैंसीको बथान परिसरभित्रै देखिन्थ्यो । विद्यालय नभएर कुनै गाईगोठ जस्तो महसुस हुन्थ्यो । विद्यार्थी संख्याभन्दा बढी चौरमा चौपाया थिए ।
विद्यार्थी संख्याभन्दा बढी विद्यालयको परिसरमा गाईभैंसी देख्दा अचम्म मान्नु पर्ने अवस्था थियो । शौचालय जहाँ विद्यार्थी शौच गर्न जान्छन् त्यहाँ एउटा ढोका छ । त्यसमा प्वाल परेको छ । कक्षा ६, ७ र ८ को एउटै कक्षाभित्र पढाइ हुन्छ । यस्ता दृष्यमा विद्यालय प्रशासनको नजरमा पर्छ कि पर्दैनन् ?
नगरपालिकाको शिक्षा शाखाको दाबी छ–यो वर्षको एसइई परीक्षाको नतिजा ८२ प्रतिशत आयो । उत्कृष्ट दाबी गरिरहँदा देखिएका यी दृश्यँहरूले भने गिज्याई रहेका थिए ।
कक्षाकोठामा बिजुली, पंखा र बत्ती छैन् । तीनवटा कक्षा एकै पटक संचालन हुन्छ । त्यो पनि एउटै कोठामा । कसरी पढाउनुहुन्छ शिक्षकहरूले ? त्यो पनि अनौठो छ । त्यहाँ भेटिएका विद्यार्थीलाई हामीले सोध्यौं ।
‘कत्ना क्लासमै पढइछे ?’ चार–चार एक विद्यार्थीको जवाफ थियो ।
यतै पढाइ ‘होइछ कि नै होइछ ?’ अर्को प्रश्न गर्यौ ।
नाई –विद्यार्थीको जावफ थियो ।
कि ‘कराइछ सर सब ?’
खाली खेल खेलिया–अर्का विद्यार्थीले जवाफ दिए ।
गर्मीमा पढ्न आउने विद्यार्थीलाई त्यहाँ निकै सकस छ । एउटा कक्षामा पाँच जना, चार जना र तीन जनासमेत हुन कठिन छ । एउटा कक्षामा जम्मा तीन जनासम्म विद्यार्थीहरू पढ्छन् । करिब ९८ जना विद्यार्थी पढ्ने गरेको विद्यालयमा सबै नियमित आउँदैनन् । टिफिनसम्म बस्ने अनि जाने, यस्तै छ ।
विद्यालयमा चापाकल (पानी तान्ने कल) को ह्यान्डिल छैन् । कक्षाकोठामा बस्ने अवस्थै छैन । डेस्क बेन्चहरू उल्टो पारेर राखिएको छ । गोबरका थुप्रा असरल्ल छन् । दिनभरि गाईगोरु चौरमा बाँधिन्छ । अनि अब यो पानी आउन थाल्यो भनेपछि गाईगोरु छोडिन्छ र कक्षाकोठामा विद्यार्थी होइन, गाईवस्तु छिर्ने गर्छन ।
सुनवर्षीका कुडौलीस्थित यो विद्यालय ग्रामीण भेगका विद्यालयको अवस्था दर्शाउने एउटा उदाहरण मात्र हो । यसको सुधारमा नगरपालिका र विद्यालय प्रशासनले ध्यान दिने कि ?