विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहानै विराटनगरस्थित कोसी अस्पताल आसपास अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको छ। बिहान ६ बजुअघि सुरु गरिएको अभियानअन्तर्गत अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएका तीनवटा संरचनामा रहेका व्यवसायिक सटर तथा पसल हटाइएको हो।
प्रशासनले देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी र नेपाल क्षयरोग निवारण संस्थाका मुख्य भवन भने यथावत राख्दै ती संस्थाले निर्माण गरी भाडामा सञ्चालनमा रहेका सटर र पसलहरू हटाएको हो। अभियानका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने डोजर प्रयोग गरेर सटरहरू भत्काइएको थियो।
गणेश मन्दिर मातहत रहेका उज्ज्वल फर्मा, कलश फर्मा, किसान किराना पसल, श्रुति फार्मेसी र बालबालिका क्लिनिकमा सञ्चालन भइरहेका संरचनाहरू हटाइएका छन्।
यस्तै नेपाल क्षयरोग निवारण संस्थाले भाडामा लगाएका श्रेष्ठ खाजा घर, मदिना होटेल, पुन्टु कलेक्सन, पूर्वाञ्चल बायोमेडिकल, दीपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत सेन्टर, मोनिका फार्मेसी, निरुपमा होटेल तथा दुईवटा खाली सटरमा पनि डोजर चलाइएको छ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालनमा रहेका सुनिल भेराइटिज, सुभना ट्रेडर्स, त्रिवेणी फोटोकपी स्टुडियो, राष्ट्रिय वाणिज्य बैंकले प्रयोग गर्दै आएका दुई हल, कोशी मोबाइल र मिना मेडिकल रहेका सटरहरू पनि हटाइएका छन्।
त्यसैगरी देवकोटा पुस्तकालय परिसरका दुईवटा बन्द सटर, भट्टराई पान पसल, सुवान सैलुन, देवकोटा हेयर कटिङ, मोःमोः हाउस, सुपर सङ्गीत आर्ट्स, देवकोटा होटेल तथा अर्को एक पान पसल रहेको संरचनामा पनि डोजर चलाइएको छ।
यद्यपि गणेश मन्दिरको मूल भवन, ब्लड बैंकको मुख्य भवन, राष्ट्रिय वाणिज्य बैंकको मूल भवन, देवकोटा पुस्तकालयको मुख्य भवन तथा नेपाल क्षयरोग निवारण संस्थाको भित्री भवनमा भने डोजर चलाइएको छैन। ती भवनका प्रवेशद्वार भने खुला गरिएको प्रशासनले जनाएको छ।
कोसी अस्पतालको सरकारी जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले यो कदम चालेको हो। हटाइएका सटरहरूमा सञ्चालनमा रहेका व्यवसाय पूर्ण रूपमा प्रभावित भएका छन् भने थप अतिक्रमित संरचनामाथि पनि आवश्यक कारबाही अघि बढाइने प्रशासन स्रोतले जनाएको छ।
