Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

स्वास्थ्य बीमाको संकटः कोशी अस्पतालमा बिरामीको थेगिनसक्नु घुइँचो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तराईमा बढ्दो गर्मीसँगै स्वास्थ्य सेवा लिन सरकारी अस्पताल पुग्ने बिरामीले थप सास्ती व्यहोर्नुपरेको छ। विराटनगरमा सोमबार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो भने मंगलबार पनि तातो हावा चलिरहेकाले जनजीवन प्रभावित बनेको छ।

यही चर्को गर्मीका बीच विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि आउने बिरामीको भीड उल्लेख्य रूपमा बढेको छ। अस्पताल परिसरमा सयौं बिरामी घण्टौंसम्म पालो कुरेर लाइनमा बस्न बाध्य छन्। गर्मी, भीड र लामो प्रतीक्षाका कारण बिरामी तथा उनीहरूका आफन्त थप समस्यामा परेका छन्।

बिज्ञापन

स्वास्थ्य बीमा बोर्डले जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिकबाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरेपछि उपचारका लागि सरकारी अस्पतालतर्फ बिरामीको चाप बढेको हो। यस निर्णयले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई प्रत्यक्ष असर परेको छ।

बुढीगंगा गाउँपालिका–१ की ४६ वर्षीया कमला लम्सालको पित्तथैलीको शल्यक्रियाको मिति जेठ १७ गतेका लागि तय भएको थियो। तर, शल्यक्रियाअघि नै निजी अस्पतालमा बीमा सेवा बन्द भएपछि उनी उपचारको विकल्प खोज्न बाध्य भएकी छन्। अब उनले निजी अस्पतालमा महँगो खर्च बेहोर्नुपर्ने वा सरकारी अस्पतालको लामो लाइनमा बस्नुपर्ने अवस्था आएको छ।

बीमा सेवा बन्द भएपछि कोशी प्रदेशकै प्रमुख सरकारी अस्पताल कोशी अस्पतालमा दैनिक बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। अस्पताल प्रशासनका अनुसार यसअघि दैनिक १ हजारदेखि १ हजार २ सयसम्म बिरामी आउने गरेकामा अहिले संख्या २ हजार नाघ्न थालेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीका अनुसार सोमबार दिउँसो १ बजेसम्ममै १ हजार ८ सयभन्दा बढी बिरामीले ओपीडी टिकट लिइसकेका थिए।

सीमित जनशक्ति र पूर्वाधारका कारण अस्पताललाई बढ्दो चाप व्यवस्थापन गर्न कठिन भइरहेको छ। विराटनगरका अपन मियाले बिहानैदेखि लाइनमा बसेर पाँच घण्टापछि मात्र चिकित्सक भेट्न पाएको अनुभव सुनाए। उनका अनुसार निजी अस्पतालमा बीमा सेवा बन्द भएपछि सर्वसाधारण सरकारी अस्पतालमा निर्भर हुन बाध्य भएका छन्।

कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण उच्च रहेको छ। प्रदेशको कुल जनसंख्याको करिब ५२ प्रतिशत अर्थात् २६ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध छन्। तीमध्ये २ लाख ५१ हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा हजारौं विपन्न र अपाङ्गता भएका व्यक्ति रहेका छन्।

यसअघि प्रदेशभरका ११३ स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका बीमित नागरिक तीन ठूला मेडिकल कलेजसहित २१ निजी अस्पतालबाट सेवा बन्द भएपछि प्रभावित भएका छन्।

स्वास्थ्य बीमा बोर्डले सरकारी अस्पताललाई सुदृढ बनाउने र निजी अस्पतालसँगको शोधभर्ना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले निर्णय गरिएको जनाएको छ। तर निजी अस्पतालहरूले भने राज्यले लामो समयदेखि शोधभर्ना रकम भुक्तानी गर्न नसकेको कारण समस्या उत्पन्न भएको बताउँदै आएका छन्।

विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले पर्याप्त पूर्वतयारीबिना गरिएको निर्णयले स्वास्थ्य सेवा प्रभावित भएको बताए। उनका अनुसार अधिकांश सरकारी अस्पतालमा आवश्यक जनशक्ति र आधुनिक उपकरणको अभाव रहेकाले बिरामीलाई निजी सेवाबाट वञ्चित गर्नु उपयुक्त विकल्प होइन।

स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको उपचार पहुँच विस्तार गर्ने महत्वपूर्ण सामाजिक सुरक्षाको योजनाका रूपमा हेरिएको थियो। तर निजी अस्पतालमा सेवा बन्द भएपछि अहिले चर्को गर्मी, बढ्दो बिरामीको चाप र सीमित सरकारी संरचनाबीच हजारौं सेवाग्राही प्रभावित बनेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka