Premier Cables
Premier Steel

विराटनगर

अत्यधिक गर्मीपछि विराटनगरमा ‘वाटर फगिङ कूलिङ सिस्टम’ सञ्चालन

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २३, २०८३  | बिहान ११:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि विराटनगर महानगरपालिकाले मुख्य सडकको पेटीमा ‘मिस्टिङ सिस्टम’ (वाटर फगिङ कूलिङ सिस्टम) सञ्चालनमा ल्याएको छ।

महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा जडान गरिएको उक्त प्रणाली ट्राफिक चोकदेखि जलजला चोकको उत्तरतर्फ महालक्ष्मी ज्वेलरीसम्म सडकको दुवैतर्फको पेटीमा राखिएको हो। प्रणालीअन्तर्गत पाइपमा जडान गरिएका सूक्ष्म नोजलमार्फत पानीलाई अत्यन्त साना कण (मिस्ट) का रूपमा हावामा छरिन्छ।

बिज्ञापन

हावामा फैलिएका ती पानीका कण तत्काल बाफमा परिणत हुँदा वरपरको ताप सोस्ने भएकाले पैदलयात्रीले केही चिसोपनको अनुभूति गर्न सक्ने महानगरले जनाएको छ।

महानगरपालिकाका अनुसार यो प्रविधिले सिंगो शहरको तापक्रम घटाउने उद्देश्य राखेको होइन। बरु पैदलयात्री हिँड्ने क्षेत्र, सार्वजनिक प्रतीक्षास्थल तथा बढी भीडभाड हुने स्थानमा केही डिग्रीसम्म तापक्रमको अनुभूति कम गराई गर्मीबाट राहत दिन सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

करिब १० लाख रुपैयाँको लागतमा जडान गरिएको यो प्रणालीले स्थानीय रूपमा करिब ३ डिग्री सेल्सियससम्म तापक्रम घटाउन सक्ने तथा सडकमा उड्ने धुलोसमेत कम गर्न मद्दत गर्ने दाबी गरिएको छ।

प्राविधिकहरूका अनुसार मिस्टिङ प्रणालीमा पानीलाई ट्याङ्कीमा संकलन गरी आवश्यक पर्दा पाइपमार्फत उच्च चापमा नोजलसम्म पुर्‍याइन्छ। त्यहाँबाट निस्कने अत्यन्त सूक्ष्म पानीका कणले वातावरणलाई शीतल बनाउने भए पनि पैदलयात्रीका कपडा भने नभिज्ने गरी प्रणाली डिजाइन गरिएको छ।

विश्वका अत्यधिक गर्मी हुने शहरहरूमा मिस्टिङ प्रणालीको प्रयोग बढ्दो छ। युरोपबाट सुरु भएको यो प्रविधि हाल दुबई, दोहा, रियाद तथा भारतका अहमदाबाद, दिल्ली र जयपुरलगायतका शहरमा सार्वजनिक स्थल, बसपार्क, पार्क, खुला बजार र पर्यटकीय क्षेत्रमा प्रयोग हुँदै आएको छ।

गर्मीयाममा विराटनगरको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने भएकाले सार्वजनिक स्थानमा नागरिकलाई तत्काल राहत दिने उद्देश्यले यो प्रविधि सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ।

यद्यपि, वातावरणविद्हरूले मिस्टिङ प्रणाली तत्कालका लागि प्रभावकारी भए पनि दीर्घकालीन समाधानका रूपमा सडक किनारमा वृक्षारोपण, हरियाली विस्तार र खुला क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa