विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ स्थित डुबान मार्गको सडक निर्माण कार्यमा ढिलाइ भएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। ठेक्का अवधि सकिन लाग्दासमेत सडक निर्माणको काम अघि नबढेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार सडक निर्माणका लागि तोकिएको समय करिब सकिन लाग्दा पनि ठेकेदार पक्षले काम सुरु गरेको छैन। “तीन महिना बितिसक्यो, समय पनि सकिन लागेको छ, तर ठेकेदार सडक हेर्नसमेत आएका छैनन्,” एक स्थानीयले गुनासो गरे।
सडक निर्माणबारे वडा नम्बर–६ का अध्यक्ष हरिशचन्द्र सहनीलाई जानकारी गराउँदा काम छिट्टै हुने आश्वासन पाए पनि हालसम्म प्रगति नभएको स्थानीयको भनाइ छ। उनीहरूले आफूहरूको समस्या समाधानका लागि वडा कार्यालय र महानगरपालिकाबाट प्रभावकारी पहल हुनुपर्ने माग गरेका छन्।
स्थानीयले विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्कीसँग पनि सम्पर्क गर्न खोज्दा फोन नउठेको गुनासो गरेका छन्। सडक, पूर्वाधार र जनताका दैनिक समस्यामा जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने उनीहरूको माग छ।
यस्तै, सोही क्षेत्रमा रहेको विद्युत् पोलमा बत्ती जडान गर्न आग्रह गरिएको चार दिन बितिसक्दा पनि काम नभएको स्थानीयले बताएका छन्। बत्ती जडान गर्ने जिम्मेवारी पाएका व्यक्तिले फोन नउठाउने वा एक हप्ता लाग्ने जवाफ दिने गरेको उनीहरूको गुनासो छ।
स्थानीयवासीले जनताको करबाट चल्ने स्थानीय सरकारले जनताका आधारभूत समस्या समाधानमा ध्यान दिनुपर्ने भन्दै सडक निर्माण र विद्युत् बत्ती जडानको काम तत्काल अघि बढाउन माग गरेका छन्।
