Premier Cables
Premier Steel

विराटनगर

कोशी अस्पतालको जग्गा खाली गर्न ७ दिने अन्तिम अल्टिमेटम, अटेर गरे ‘डोजर चल्ने’

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २२, २०८३  | राती ९:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गामा अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाउन ७ दिने अन्तिम अल्टिमेटम (समयसीमा) दिएको छ।

यसअघि जारी गरिएको १५ दिने म्यादलाई सरोकारवाला संघसंस्थाहरूले बेवास्ता गरेपछि अस्पताल प्रशासनले सोमबार दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै संरचना खाली गर्न कडा निर्देशन दिएको हो।

बिज्ञापन

​अस्पतालको स्वामित्वमा रहेको विराटनगर–७ स्थित बहुमूल्य करिब १० कठ्ठा जग्गा (कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६) वर्षौँदेखि विभिन्न चारवटा संस्थाहरूले ओगट्दै आएका छन्।

नापी कार्यालय मोरङले गत जेठ २९ गते गरेको फिल्ड रेखाङ्कन प्रतिवेदनले उक्त जग्गा अस्पतालकै भएको पुष्टि गरिसकेको छ। तर, त्यहाँ संरचना बनाएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले जग्गा खाली गर्न अटेर गरिरहेका छन्।

सामाजिक संस्थाको आवरणमा लाखौँको व्यापारिक दोहन
अस्पताल प्रशासनका अनुसार सामाजिक सेवाको आवरणमा जग्गा ओगटेका यी संस्थाहरूले ३० भन्दा बढी व्यावसायिक सटरहरू निर्माण गरी मासिक लाखौँ रुपैयाँ भाडा असुलिरहेका छन्।

अस्पतालको आन्तरिक प्रतिवेदन अनुसार:
​नेपाल क्षयरोग निवारण संस्था: ६ कठ्ठा ८ धुर जग्गा ओगटेर बनाइएका संरचनाबाट मासिक करिब २ लाख रुपैयाँ भाडा उठाउने गरेको।

​नेपाल रेडक्रस सोसाइटी: २ कठ्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको।

​गणेश मन्दिर र देवकोटा पुस्तकालय: यिनीहरूले पनि व्यावसायिक सटरहरू भाडामा दिएर उल्लेख्य आम्दानी गरिरहेको।
​मन्त्रीद्वयको स्थलगत निरीक्षण र निर्देशन
अस्पतालको अतिक्रमित जग्गाको विषयलाई लिएर आइतबार साँझ गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्रीद्वयले सरकारी सम्पत्तिको अस्वाभाविक दोहन रोक्न र अस्पतालको स्तरोन्नतिका लागि उक्त जग्गा तुरुन्त खाली गराउन कडा निर्देशन दिएका थिए।

​अस्पतालले यसअघि असार ५ गते १५ दिनको म्याद दिएर पहिलो पटक सूचना जारी गरेको थियो, जसको अवधि असार १९ गते नै सकिएको थियो। तोकिएको पहिलो म्यादमा संरचना नहटाएपछि सोमबारदेखि लागू हुने गरी ७ दिनको अन्तिम समयसीमा तोकिएको हो।

यस अवधिमा पनि अनधिकृत संरचनाहरू खाली नगरिए प्रचलित कानुनबमोजिम अस्पताल प्रशासन आफैँले डोजर चलाएर संरचना हटाउने चेतावनी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa