विराटनगर । कोशी अस्पतालको नेत्र विभाग छुट्टै भवनमा स्थानान्तरण हुने भएको छ। अस्पताल विकास समितिको नयाँ कार्यसमितिको पहिलो बैठकले रेडक्रसले प्रयोग गर्दै आएको भवन खाली भएपछि त्यहाँ नेत्र विभाग सञ्चालन गरी सेवा विस्तार गर्ने निर्णय गरेको हो।
यसअघि राष्ट्रिय वाणिज्य बैंक रहेको उक्त भवनमा रेडक्रसले सेवा सञ्चालन गर्दै आएको थियो। रेडक्रसले भवन खाली गरेपछि उपलब्ध संरचनालाई उपयोग गरेर नेत्र विभाग विस्तार गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।
नयाँ भवन निर्माण गर्नुको सट्टा उपलब्ध संरचनालाई नै प्रयोग गर्दा ठूलो खर्च बचत हुने अस्पतालको अपेक्षा छ। अस्पताल विकास समितिका अध्यक्ष डा. सुमित घिमिरेले आँखाको उपचार सेवा नेपाल सरकारको प्राथमिकतामा रहेकाले कोशी अस्पतालको नेत्र विभाग विस्तारलाई पनि प्राथमिकतामा राखिएको बताए।
‘आँखाको अस्पताल नेपाल सरकारको प्राथमिकता हो। यो नेपाल सरकारअन्तर्गतको पहिलो नेत्र विभाग हो,’ घिमिरेले भने, ‘आवश्यक भवनका रूपमा रेडक्रसले खाली गरेको भवन उपयुक्त देखिएपछि त्यहीँबाट सेवा विस्तार गर्ने निर्णय गरेका हौं।’
हाल नेत्र विभाग सञ्चालन भइरहेको स्थान साँघुरो भएकाले आँखाका बिरामीको उपचार तथा व्यवस्थापनमा समस्या हुँदै आएको अस्पतालले जनाएको छ। छुट्टै भवनमा विभाग स्थानान्तरण भएपछि उपचारसँगै शल्यक्रिया सेवा पनि थप व्यवस्थित हुने अस्पतालको अपेक्षा छ।
घिमिरेका अनुसार भवनलाई नेत्र विभागका रूपमा सञ्चालन गर्न ठूलो संरचनात्मक परिवर्तन आवश्यक छैन। आवश्यक पार्टिसन, सामान्य मर्मतसम्भार तथा रङरोगन गरेपछि विभाग सञ्चालन गर्न सकिनेछ। अस्पतालमा उपलब्ध उपकरण तथा स्रोतसाधनलाई व्यवस्थापन गरेर सेवा सुरु गर्ने तयारी गरिएको उनले बताए।
अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार भवन मर्मत तथा व्यवस्थापनका लागि अस्पताल प्रशासनले टेन्डर प्रक्रिया अघि बढाउनेछ। रेडक्रसले छाडेको भवनको भौतिक अवस्था राम्रो रहेको उनले बताए।
‘भवनको भौतिक अवस्था राम्रो छ। भुइँमा टायलसमेत लगाइसकिएको छ,’ न्यौपानेले भने, ‘त्यसैले ठूलो संरचनात्मक निर्माण गर्नुपर्ने अवस्था छैन। आवश्यक पार्टिसन, सामान्य मर्मतसम्भार र रङरोगन गरेपछि विभाग सञ्चालन गर्न सकिन्छ।’
भवन मर्मत तथा व्यवस्थापनमा लाग्ने खर्च अस्पतालकै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी छ। मर्मतको काम तीव्र गतिमा अघि बढाउन सके करिब १५ दिनमै सम्पन्न गर्न सकिने घिमिरेले बताए। मर्मत सकिएपछि करिब एक साताभित्र विभाग सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ।
यद्यपि, टेन्डर तथा अन्य प्रशासनिक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्पूर्ण प्रक्रिया सकेर करिब दुई महिनाभित्र छुट्टै भवनबाट नेत्र विभागको सेवा सुरु गर्ने अस्पतालको लक्ष्य छ।
शल्यक्रियाका बिरामीका लागि इन्डोर सेवा
हाल कोशी अस्पतालको नेत्र विभागमा सात जना चिकित्सक र दुईदेखि तीन जना प्यारामेडिक्स कार्यरत छन्। विभाग छुट्टै भवनमा स्थानान्तरण भएपछि आँखाको शल्यक्रिया गराउने बिरामीका लागि इन्डोर सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
इन्डोर सेवाका लागि कति बेड राख्ने भन्ने विषय भने भवनको मर्मत तथा पूर्वाधार व्यवस्थापनपछि निर्धारण गरिने न्यौपानेले बताए।
अलग्गै भवनमा उपचार, शल्यक्रिया तथा इन्डोर सेवाका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिने भएकाले बिरामीलाई सेवा लिन सहज हुने अस्पतालको अपेक्षा छ।
नेत्र विभाग विस्तारका क्रममा प्रदेश स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरिने भएको छ। आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा मन्त्रालयसँग सहकार्य गरिने अध्यक्ष घिमिरेले बताए।
उनका अनुसार अहिले उपलब्ध पूर्वाधार र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा सुरु गर्ने र आवश्यकता तथा सेवाको मागअनुसार क्रमशः जनशक्ति र उपकरण थप गर्दै जाने योजना छ।
नेत्र विभाग विस्तारसँगै अस्पतालका अन्य सेवाको व्यवस्थापन र सुधारलाई पनि क्रमशः अघि बढाउने अस्पताल विकास समितिले जनाएको छ। बिरामीको चाप, उपलब्ध पूर्वाधार र आवश्यकताका आधारमा आकस्मिक तथा ओपीडी सेवासहित अन्य विभागको व्यवस्थापन सुधार गर्ने योजना अस्पतालको छ।
